नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई बेलायतले नपत्याएपछि बिग बजेटको फिल्म ‘इन्टु मिन्टु लन्डनमा’को छायांकन रोकिएको छ । काठमाडौं र लन्डनमा छायांकन हुने यो फिल्ममा साम्राज्ञी मुख्य भूमिकामा छिन् । साम्राज्ञीले नेपालस्थित बेलायती दूतावासमा भिसा आवेदन दिनु अगाडि नै फिल्मको निर्माण घोषणा गरिएको थियो ।
फिल्ममा साम्राज्ञीको अपोजिटमा देखिन लागेका धिरज मगर भने बेलायतमा बस्ने गर्छन । स्रोतले फिल्मीखबर डटकमलाई दिएको जानकारी अनुसार, साम्राज्ञीको भिसा आवेदन अस्वीकृत भएपछि फिल्मको छायांकन रोकिएको हो । साम्राज्ञीसहित करीब १० जनाको भिसा बेलायती दूतावासले रद् गरेको खबर छ ।
बेलायतले भिसा नदिँदा साम्राज्ञीले 'ए मेरो हजुर २' को प्रमोशनमा राम्रै दौडिने समय पाएकी थिइन् । ‘इन्टु मिन्टु लन्डनमा’को छायांकनका लागि बेलायत जान नपाएपछि अहिले उनी नेपालमा नै छिन् । फिल्मकी निर्देशक रेनाशा वान्तवा राई र कलाकार तथा पत्रकार दिलभुषण पाठक भने फिल्मको छायांकन नहुने भएपछि १ महिने बेलायत बसाईपछि नेपाल फर्किएका छन् ।
फिल्ममा दिलभुषण पाठकले साम्राज्ञीको पिताको भूमिका निर्वाहा गर्दैछन् । वर्किङ भिसाका लागि आवेदन दिएका कारण साम्राज्ञीसहित फिल्मको जम्बो टिमको भिसा अस्वीकृत भएको स्रोत बताउँछ । दोस्रो पटक भिसा आवेदन दिँदा बलियो प्रमाण जुटाउनु पर्ने भएका कारण यस वर्ष फिल्मको छायांकन सुरु हुने संभावना न्यून छ । जुन १६ देखि अगष्ट ७ सम्म फिल्मको छायांकन हुने बताइएको थियो ।