
कात्तिक १७ गतेदेखि रिलिज हुने फिल्म ‘फाटेको जुत्ता’ ले दर्शकहरुलाई फाटेको जुत्ताको फोटो पठाएर नयाँ जुत्ता उपहार दिने योजना ल्याएको छ । फिल्मको प्रचार-प्रसार आक्रामक बनाउने क्रममा निर्माण पक्षले फाटेको जुत्ताको फोटो फेसबुकमा अपलोड गरेर ट्याग गर्ने २ सय ५० जनालाई नयाँ जुत्ता प्रदान गर्ने योजना ल्याएको हो ।
फिल्मका निर्माता अर्जुन कुमारले भने, 'फाटेको जुत्ताको फोटो आफ्नो फेसबुकमा अपलोड गरेर ट्याग गर्ने व्यक्ति मध्ये गोलाप्रथाबाट छानेर प्रत्येक हप्ता २ सय ५० जनालाई नयाँ जुत्ता घरमा नै पुर्याइदिने छौ । फिल्मको नाम अनुसार हामीले यो योजना दर्शकमाझ लिएर आएका हौं । यसले फिल्मको प्रचारमा पनि ठूलो सहयोग पुग्नेमा विश्वस्त छु ।'
अर्जुन कुमारको निर्माणमा बनेको ‘फाटेको जुत्ता’लाई 'जिन्दगी रक्स'का निर्देशक निकेश खड्काले निर्देशन गरेका हुन् । फिल्ममा प्रियंका कार्की, सौगात मल्ल, कामेश्वर चौरासिया, रविन्द्र झा, अनोज पाण्डे लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।
फिल्मका गीतमा प्रवेश मल्लिक र शंकर थापाको संगीत, कविराज गहतराज र राजिव समरको कोरियोग्राफी, अष्ट महर्जनको द्वन्द्व रहेको छ । फिल्ममा नायक दयाहाङ राई र नायिका वर्षा राउत केमियो भूमिकामा छन् ।

