मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

एकैदिन हल र टीभीमा फिल्म रिलिज गर्न नपाइने

फिल्मीखबर, काठमाडौं, 2017/10/09
 
पछिल्लो समय नेपाली फिल्ममा दर्शक बढ्दै गएका छन् । केही वर्ष अगडिसम्म बलिउड फिल्मले नेपाली फिल्म विस्तापित गर्थ्यो तर अहिले नेपाली फिल्मले बलिउड फिल्म विस्तापित गर्न थालेका छन् । 'छक्का पन्जा', 'ड्रिम्स', 'गाजलु', 'म यस्तो गीत गाउँछु', 'प्रेमगीत २', 'ए मेरो हजुर २' लगायतका फिल्महरु यसका उदारहण हुन् । विस्तारै हलमा दर्शकको संख्या बढ्दै गर्दा अहिले नेपाली निर्माताहरु हल र टीभीमा एकसाथ फिल्म रिलिज गर्न लागेका छन् । 
 
निर्मातालाई महंगो रकम तिरेर पछिल्लो समय डिसहोमले हलमा लागेकै दिन टीभीमा पनि फिल्म रिलिज गर्दै आइरहेको छ । अब हलमा रिलिज भएकै दिन टीभीमा पनि फिल्म रिलिज गर्न नपाइने भएको छ । सोमवार बसेको नेपाल चलचित्र संघको बैठकले यस्तो निर्णय गरेको हो । संघको बैठक पश्चात फिल्मीखबर डटकमसँग कुराकानी गर्दै अध्यक्ष प्रदीप कुमार उदयले भने, 'जसरि पछिल्लो समय हलमा लागेकै दिन टीभीमा पनि फिल्म रिलिज गर्न थालियो यसले नेपाली फिल्म उद्योगलाई ठूलो घाटा हुन्छ । घाटा कसरि हुन्छ भन्दा यहाँ एकैदिन हिन्दी फिल्म टीभीमा रिलिज हुँदैन । विदेशी फिल्म त झण्डै २ महिनापछि टीभीमा रिलिज हुन्छ । नेपाली फिल्म चाहिँ एकैदिन टीभीमा रिलिज हुने अनि हिन्दी फिल्म चाहिँ हलमा रिलिज हुने भयो भने जनताले किन नेपाली फिल्म हेर्न हलमा आउने ? टिभीमै हेर्छन् नी । अनि हलमा त विदेश फिल्म हेर्न मात्र दर्शकहरु आउने भए । यसले त विस्तारै-विस्तारै नेपाली फिल्म उद्योग ध्वस्त हुन्छ ।
 
संघको निर्णय अनुसार, अब कम्तीमा हलमा रिलिज भएको ३ हप्तापछि मात्र टीभीमा फिल्म रिलिज गर्न पाइनेछ । अध्यक्ष उदयले अगाडि भने, 'पछिल्लो समय जसरि दर्शकहरु हलसम्म आएर फिल्म हेर्ने वातावरण बनिरहेको छ त्यो त एकैदिन टीभीमा पनि फिल्म रिलिज हुने भएपछि हाम्रो फिल्म उद्योग कहाँ पुग्छ ? नेपाली फिल्म उद्योगलाई बचाउनका लागि हलमा लागेकै दिन टीभीमा पनि फिल्म रिलिज गर्न रोक लगाएका हौं । यदी टिभीमा अगाडि र हलमा पछाडि चलाउन खोजे कुनै पनि हलमा फिल्म रिलिज हुँदैन ।' यही असोज ११ गते प्रदर्शनमा आएको फिल्म 'मेरो पैसा खोई ?' हल र डिसहोमका टीभीमा एकसाथ रिलिज भएको थियो । 
 
अब कात्तिक २ गते हल र टीभीमा फिल्म 'रुद्रप्रिया' पनि एकसाथ रिलिज हुँदैछ । के अब 'रुद्रप्रिया' टीभी र हलमा एकसाथ रिलिज होला ? सोमवार 'रुद्रप्रिया'को विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा हल र टीभीमा एकसाथ फिल्म रिलिज हुने विषयमा बोल्दै रेखाले भनिन्, 'मेरा दर्शक सुगममा मात्र होइन दुर्गममा पनि छन् । दुर्गम ठाउँमा हल छैन । जहाँ हल छैन त्यहाँका दर्शकको पनि त म रेखा थापा हुँ । जहाँ हलको सुविधा छ त्यहाँका दर्शकलाई हलमै गएर 'रुद्रप्रिया' हेरिदिन आग्रह गर्छु । हल नभएका ठाउँमा टीभीमा भएपनि मेरा दर्शकहरुले 'रुद्रप्रिया' हेर्नुहोस भनेर एकैदिन रिलिज गर्न लागेका हौ ।' एकैदिन हल र टीभीमा फिल्म रिलिज गर्न नपाइने संघको निर्णय प्रश्चात अब 'रुद्रप्रिया' के होला ?