निर्माण अगावैदेखि खुबै चर्चामा रहेको फिल्म 'लिलिबिली'को छायांकन कात्तिक ७ गतेबाट सुरु हुँदैछ । अधिकांश छायांकन बेलायत र स्कटल्याण्डमा हुने यो फिल्ममा नायक प्रदीप खड्का मुख्य भूमिकामा छन् । २२ लाख पारिश्रमिक लिएर प्रदीपले यो फिल्म साइन गरेको चर्चाले अझैपनि सिनेवृत सेलाएको छैन । गएको महिना राजधानीमा एक कार्यक्रमका बीच फिल्मको औपचारिक निर्माण घोषणा गरिएको थियो ।
तर, फिल्मसँग सम्बन्धित एक खबर 'फिल्मीखबर डटकम'लाई प्राप्त भएको छ । स्रोतका अनुसार, फिल्मकी मुख्य नायिका रेविका गुरुङको भिषा आवेदन नेपालस्थित बेलायती दूतावासले अस्वीकृत गरेको छ । रेविकाले फिल्मको छायांकनका लागि 'बेलायत जान पाउँ' भन्दै बेलायती दूतावासमा भिषा आवेदन दिएकी थिइन् । फिल्मकी मुख्य नायिकालाई बेलायती दूतावासले भिषा नदिएपछि अहिले निर्माण पक्ष तनाबमा देखिएको छ ।
रेविकाको भिषा अस्वीकृत भएपछि कलाकारसहितको जम्बो टोली कात्तिक ७ गते बेलायत उड्ने तयारी चौपट भएको छ । उनी स्टाफ नर्सको विद्यार्थी हुन् । प्राप्त जानकारी अनुसार, बेलायती दूतावासले रेविकासँग केही प्रमाण मागेको थियो । तर, प्रयाप्त प्रमाण जुटाउन नसकेपछि उनको भिषा अस्वीकृत भएको खबर छ ।
भिषा क्यान्सिल भएपछि उनले आफ्नो प्रोफाइनलका लागि रातारात फोटोसुट गराइसकेकी छिन् । रेविकाले फिल्मका लागि तौल समेत घटाएकी थिइन् । फिल्ममा प्रदीपले रेविका र जसिता गुरुङसँग रोमान्स गर्दैछन् । जसिता भने बेलायतमा नै बस्दै आइरहेकी छिन् । यो फिल्मलाई मिलन चाम्सले निर्देशन गर्दैछन् ।
तश्वीर : कमल श्रेष्ठ