मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मलिना लागिन् अमेरिका, ‘रानी’को के होला ?

फिल्मीखबर, काठमाण्डौ, 2017/10/07
 
झण्डै आधा दर्जन फिल्म गरेरपनि चर्चामा आउन नसकेकी एक नायिका हुन् मलिना जोशी । पूर्व मिस नेपाल समेत रहेकी मलिनाको फिल्म यात्रा सोचे जसरी अगाडि बढ्न सकेको छैन । डेब्यूदेखि उनी अभिनित फिल्म कुनैपनि हिट छैनन् । यस वर्ष उनी अभिनित दुई फिल्म प्रदर्शनमा आए 'संरक्षण' र 'लिला' । तर, यी दुवै फिल्मले हावा खाए । 
 
लगातार आफू अभिनित फिल्मबाट असफलता हात पार्दै आइरहेकी मलिना अभिनित नयाँ फिल्म ‘रानी’ यही कात्तिक २ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । यो फिल्ममा मलिना मुख्य भूमिकामा छिन् । तर, ‘रानी’ प्रदर्शनमा आउन १० दिन मात्र बाँकी रहँदा उनी भने अमेरिका उडेकी छिन् । ‘वुमन इन कन्सर्ट युएस यात्रा’का उनी शुक्रवार अमेरिका उडेकी हुन् । अक्टोबर ७ देखि अक्टोबर २९ सम्म अमेरिका हुने यो कार्यक्रममा मलिनाले आफ्नो विशेष प्रस्तुती दिनेछिन् । 
 
‘रानी’को निर्माण टिमले कात्तिक २ गतेलाई प्रदर्शन मिति घोषणा गरेपछि केहीदिन फिल्मको प्रचार-प्रसारमा देखिएपछि अब उनी फिल्म रिलिज भएपछि मात्र नेपाल फर्किनेछिन् । मलिनाको अनुपस्थितिले फिल्मको प्रचारमा कमी हुने पक्का छ । मलिना मात्र होइन फिल्मका अर्का मुख्य कलाकार अनुप विक्रम शाही पनि अहिले यूकेमा छन् । फिल्मका दुई मुख्य कलाकार नै विदेश भ्रमणमा रहेपछि अहिले निर्माण पक्ष तनाबमा देखिएको छ । 
 
मलिना जोशी, सारुक ताम्राकार र मनिष सुन्दर श्रेष्ठको अभिनय रहेको यो फिल्ममा नायक अनुप बिक्रम शाहि नेगेटिभ भूमिकामा छन् । त्रिकोणात्मक प्रेम कथामा अवरोध निम्त्याउने पात्रको अभिनय अनुपले गरेका छन् । फिल्मलाई दयाराम दाहालले निर्देशन गरेका हुन् ।