नेपाली फिल्ममा छोटो समयमै चर्चा कमाउन सफल नायिका हुन् वर्षा राउत । 'नाई नभन्नू ल ४' बाट नेपाली रजतपटमा भित्रिएकी वर्षाले त्यसपछि 'छक्का पन्जा' र 'जात्रा' जस्ता सुपरहिट फिल्ममा नाम गरिन् । हाल उनी अभिनित दुई नयाँ फिल्म 'छक्का पन्जा २' र 'मेरो पैसा खोई ?' प्रदर्शन भैरहेको छ । एकपछि अर्को फिल्मबाट सफलता हात पार्दै आइरहेकी नायिका वर्षा अभिनित नयाँ फिल्म ‘फाटेको जुत्ता’ कात्तिक १७ गतेबाट प्रदर्शनमा आउँदैछ ।
‘फाटेको जुत्ता’मा सौगात मल्ल र प्रियंका कार्की मुख्य भूमिकामा भएपनि वर्षाको भूमिका पनि सशक्त रहेको निर्माण पक्षले बताएको छ । फिल्ममा वर्षाको भूमिकाको विषयमा भने निर्माण पक्षले खुलाउन चाहेन । सार्वजनिक दुई गीत र ट्रेलरमा वर्षा नअट्नुले पनि ‘फाटेको जुत्ता’मा उनको भूमिका सस्पेन्स रहेको अनुमान लगाउन सकिन्छ । यस्तैमा, ‘फाटेको जुत्ता’को सुटिङ सेटमा कैद गरिएका वर्षाका तश्वीरहरु फिल्मीखबर डटकमलाई प्राप्त भएको छ ।
तश्वीरमा वर्षाले फिल्मका कलाकारहरुसँग रमाइलो गरेको देख्न सकिन्छ भने एक तश्वीरमा उनले नर्सको पहिरन लगाएकी छिन् । के ‘फाटेको जुत्ता’ मा वर्षा नर्सको भूमिकामा छिन् ? फिल्मका निर्माता अर्जुन कुमार भन्छन्, 'वर्षाको भूमिका के हो त्यो त कात्तिक १७ गते नै थाहा हुन्छ । उनले सुटिङ सेटमा रमाइलो गर्न नर्सको पहिरन लगाएको पनि त हुन सक्छिन् । फिल्ममा वर्षाको भूमिका देखेपछि दर्शक सप्राइज हुन्छन् ।'
फिल्ममा वर्षामात्र होइन दयाहाङ राईको पनि अभिनय रहेको छ । यस फिल्ममा सौगातले तराई क्षेत्रको एक यूवकको भूमिका निर्वाह गरेका छन् । अर्जुन कुमारको निर्माणमा बनेको ‘फाटेको जुत्ता’लाई निकेश खड्काले निर्देशन गरेका हुन् ।
प्रियंका कार्की, सौगात मल्ल, कामेश्वर चौरासिया, रविन्द्र झा, अनोज पाण्डे लगायतका कलाकारहरुको पनि अभिनय रहेको फिल्मका गीतमा प्रवेश मल्लिक र शंकर थापाको संगीत, कविराज गहतराज र राजिव समरको कोरियोग्राफी, अष्ट महर्जनको द्वन्द्व रहेको छ ।