नेपालमा ४ वटासम्म सिक्वेल बनेको पहिलो फिल्म हो ‘नाई नभन्नू ल’ । यसका ४ वटै सिक्वेल सुपरहिट भए । ‘नाई नभन्नू ल’को सिक्वेल लगातार हिट भएपछि यसलाई पछ्याउँदै धेरै निर्माताले पछाडि ‘२’ झुण्ड्याउँदै फिल्म निर्माण गरे । 'लुट', 'सायद', 'होस्टेल', 'कबड्डी'', 'बाटो मुनिको फूल', 'किस्मत', 'पापी मान्छे', 'हिम्मत' लगायतका फिल्महरुको सिक्वेल निर्माण भैसकेका छन् ।
केही सिक्वेल फिल्मले सफलता पनि हात पारेका छन् भने केहीले दर्शकको मुख समेत देख्न पाएनन् । पछिल्लो समय नेपालमा सिक्वेल र रिटर्न्सको फेसन नै चलेको छ । अहिले निर्माताहरु नयाँ नाममा फिल्म बनाउनु भन्दा पनि सिक्वेल निर्माण गरेर व्यापारिक रुपमा ढुक्क हुन चाहन्छन् । तर, पहिलो श्रृङ्खलाको तुलानामा सिक्वेलमा खासै सफलता भेटिएको छैन ।
यस वर्ष ३ वटा सिक्वेल फिल्म हलमा लागे । 'प्रेमगीत २', 'ए मेरो हजुर २' र 'छक्का पन्जा २' । पहिलो श्रृङ्खलासँग कुनैपनि तालमेल नभएका यी तीनै फिल्म सुपरहिट भए । केही वर्ष अगाडिसम्म ‘२’ झुण्ड्याइएका सिक्वेलले खासै दर्शक तान्न नसकिरहेको अवस्थामा यस वर्षका तीन वटै सिक्वेल फिल्मले हलमा दर्शकको थामिनसक्नुको भिड जम्मा गर्यो ।
'प्रेमगीत २' ले प्रदर्शनको ५१ औं दिने सेलिव्रेशन गरिसकेको छ भने 'ए मेरो हजुर २' ले दुई हप्तामा ६ करोड ग्रस कलेक्सन गरेको खबर छ । यस्तै, दोस्रो हप्तामा प्रदर्शन भैरहेको फिल्म 'छक्का पन्जा २' ले पहिलो हप्तामा नै ७ करोड ग्रस कलेक्सन गरेको वितरक बताउँछन् । यसले के देखाउँछ भने अब विस्तारै नेपाली फिल्म क्षेत्रमा ‘२’ झुण्ड्याइएका सिक्वेल फिल्म हिट हुन थालेका छन् । नामकै ब्रान्डले फिल्मलाई इनिसियल व्यापारमा ठूलो सहयोग पुग्ने हुँदा निर्माताहरु सिक्वेल निर्माणमा बढी चासो दिने गर्छन ।