
अब ३ दिन मात्र बाँकी छ वर्षको प्रतिक्षीत फिल्म ‘छक्का पन्जा २’ प्रदर्शनमा आउन । गएको वर्ष सय दिन मनाउँदै गर्दा १७ करोड ग्रस कलेक्सन गरेको फिल्म 'छक्का पन्जा'को सिक्वेल ‘छक्का पन्जा २’ अहिले विभिन्न कारणले चर्चामा छ । गीत-संगीत चोरीको आरोप लागेका कारणले होस् वा ट्रेलरमा मिसाइएको कमेडी रसले गर्दा नै किन नहोस् ‘छक्का पन्जा २’ अहिले सर्वाधिक चर्चाको केन्द्रविन्दुमा छ । असोज ११ गते ‘छक्का पन्जा २’ सँग भिड्न विभिन्न फिल्मले प्रदर्शन मिति घोषणा गर्दै पोष्टपोन्ड गरेपछि त झन अहिले यो मितिले सबैको ध्यान खिचेको छ ।
गएको वर्ष निकै रुचाइएको फिल्म 'छक्का पन्जा'को सिक्वेल भएका कारण पनि ‘छक्का पन्जा २’ हिट हुने निर्माण पक्षको विश्वास छ । गीत-संगीतको चर्चा, स्टार कलाकारहरुको अभिनय, दीपाश्री निरौला निर्देशक र फिल्मको बारेमा अहिलेसम्म जति विवाद भएको छ त्यसले आम दर्शकको फिल्मप्रतिको उत्सुकता बढेको छ । कमेडी प्रधान फिल्म भएका कारण पनि ‘छक्का पन्जा २’ हिट हुने अनुमान चलचित्रकर्मीले गरेका छन् ।
स्वस्तिमा खड्का, स्वरूपपुरुष ढकाल, दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, शिवहरी पौडेल, गौरव पहारी, बुद्धि तामाङ, प्रियंका कार्की, किरण केसी, बर्षा राउत, निश्चल बस्नेत, आयुष्मान देशराज श्रेष्ठ लगायतका कलाकारहरुको फिल्ममा मुख्य भूमिका छ ।
फिल्मको पटकथा तथा संवाद दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र अभिमन्यू निरवीले लेखेका हुन् । दीपक-दीपाको प्रस्तुतीमा तयार भएको यो फिल्ममा जीतु नेपाल, माग्ने बुढो डटकम, ताराचन्द्र चापागाँई, सुमन गिरीको लगानी रहेको छ । फिल्मका कार्यकारी निर्माता विकास आचार्य हुन् ।

