.jpg)
नायिका झरना थापाले निर्देशन गरेको पहिलो फिल्म 'ए मेरो हजुर २' भाद्र १६ गते प्रदर्शनमा आएको थियो । गीत-संगीत र ट्रेलरबाटै प्रतिक्षीत बनेको फिल्मले हलमा पनि दर्शकको साथ उतिक्कै पायो । नायिकाको रुपमा आफू हिट सावित गराएकी झरनाले निर्देशनमा पनि सफलता हात पारिन् । फिल्मले हालसम्ममा ६ करोड ग्रस कलेक्सन गरिसकेको छ ।
सलोन बस्नेत, साम्राज्ञी राज्यलक्ष्मी शाह, सलिनमान बनियाँ लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको फिल्म 'ए मेरो हजुर २' की निर्देशक झरनाले सलोनका कारण आफूले निर्देशनमा पनि सफलता हात पारेको बताएकी छिन् । शुक्रवार सलोन बस्नेत अभिनित फिल्म 'बाबु कान्छा'को गीत सार्वजनिक कार्यक्रममा बोल्दै झरनाले भनिन्, 'सलोनका कारण आज मैले यो हाइप पाएकी हुँ । 'ए मेरो हजुर २' हिट हुनुमा सलोनको सबैभन्दा ठूलो हात छ ।'
'ए मेरो हजुर २' मा नायक सलिनमान बनियाँको साथीको भूमिकामा काम गरेका सलोनको अभिनयको सर्वत्र तारिफ भएको थियो । उनी फिल्ममा सलिनमान बनियाँमाथि नै हाबी देखिएका थिए । फिल्म हेरेपछि दर्शकले नायक सलोन बस्नेतको अभिनयलाई सबैभन्दा धेरै रुचाइएका थिए । झरनाले सलोनको कामको तारिफ गर्दै 'बाबु कान्छा'ले पनि सफलता हात पार्ने बताइन् । सलोन अभिनित 'बाबु कान्छा' मंसिर १५ गतेबाट प्रदर्शनमा आउँदैछ ।

