
नायक सलोन बस्नेत अहिलेका 'हट केक' हुन् । 'ए मेरो हजुर २' सुपरहिट भएपछि सलोनको चर्चाले आकाश छोएको छ । फिल्ममा नायक सलिनमान बनियाँमाथि नै हाबी देखिएका सलोन अहिले आफ्नो नयाँ फिल्म 'बाबु कान्छा'को प्रदर्शनको प्रतिक्षामा छन् । फिल्ममा हिरोको साथीको भूमिकामा सधै हिट सलोनले 'बाबु कान्छा'मा मुख्य भूमिका निर्वाहा गरेका छन् । मुख्य भूमिकामा अभिनय गरेका फिल्मबाट सफलता हात नपारेका सलोनलाई नायकको रुपमा जम्नका लागि 'बाबु कान्छा' हिट हुन आवश्यक छ ।

यो फिल्ममा सलोनले नायिका करिश्मा श्रेष्ठसँग रोमान्स गरेका छन् । यसअघि सलोन र करिश्माले फिल्म 'लब सब' र 'झिल्के'मा काम गरेका थिए । 'झिल्के' अब प्रदर्शनमा नआउने भएको छ भने 'लब सब'ले बक्स अफिसमा कमाल गरेन । तर, सलोन र करिश्माको जोडीलाई भने दर्शकहरुले खुबै रुचाए । यही फिल्मबाट उनीहरु अफयेरमा रहेको हल्ला पनि खुबै चल्यो ।
तर, सलोन र करिश्माले आफूहरु मिल्ने साथी मात्र रहेको बताइरहे । केही मिडियासँगको कुराकानीमा उनीहरुले प्रेम सम्बन्ध स्वीकार गरेको पनि खबर छ । फिल्म 'बाबु कान्छा'को घोषणा कार्यक्रममा सलोनले एक अनलाइनसँग कुराकानी गर्दै करिश्मासँग ब्रेकअप भएको खुलासा गरेका थिए ।

ब्रेकअप पश्चातपनि सलोन र करिश्माले फिल्म 'बाबु कान्छा'मा एकसाथ काम गरेका छन् । शुक्रवार राजधानीमा एक कार्यक्रमका बिच फिल्मको पहिलो गीत सार्वजनिक गरियो । गीत सार्वजनिक कार्यक्रममा पनि सलोन र करिश्माको केमेष्ट्री गज्जबको देखियो । मिडियाको क्यामेरा अगाडि यी दुईले हात समात्दै पोज-पोजका तश्वीर खिचाए । गीत सार्वजनिक कार्यक्रममा देखिएको सलोन र करिश्माको निकटताले अझै उनीहरु प्रेम सम्बन्धको गाँठोबाट नछुटिएको अनुमान लगाउन सकिन्छ । फिल्म 'बाबु कान्छा'लाई सलोनका पिता शोभित बस्नेतले निर्देशन गरेका हुन् ।

