मिति : २०८१ वैशाख ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फिल्म प्रचारमा नहिँड्ने कामेश्वर !

मनिष अन्जान, काठमाण्डौ, 2017/09/21
 
फिल्म ‘रेसम फिलिली’मा हरियाको चरित्रबाट चर्चित भएका अभिनेता कामेश्वर चौरसियाको अभिनयको सर्वत्र तारिफ हुने गर्छ । मधेशी पात्रको रुपमा विशेषत कामेश्वरलाई दर्शकहरुले पटक-पटक पर्दामा हेर्दै आइरहेका छन् । रंगमञ्च हुँदै मल्टिप्लेक्सका दर्शकका माझ परिचित कामेश्वरले नायिका रेखा थापादेखि नायक सौगत मल्लसम्म दर्जनौ स्टार कलाकारहरुसँग स्क्रिन शेयर गरिसकेका छन् । पछिल्लो समय उनी चरित्र अभिनेताको रुपमा खुबै चलेका छन् । 
 
कामेश्वरले संख्यात्मक हिसाबले झण्डै १ दर्जन बढी फिल्ममा अभिनय गरिसकेका छन् । कति फिल्ममा त उनी नायकमाथि नै हाबी बनेका छन् । तर, फिल्म रिलिजको बेला भने उनको अनुहार निर्माताले देख्न पाउँदैनन् । निर्माताले मात्र होइन अहिलेसम्म कुनैपनि फिल्मको विषयमा उनले मिडियामाझ आफ्नो विचार राखेका छैनन् । फिल्मको काम सकाएपछि आफ्नो कर्तव्य सकिएको सम्झने कामेश्वरको बानीले निर्मातालाई राम्रै तनाब दिइरहेको छ । 
 
गएको वर्ष प्रदर्शनमा आएको फिल्म 'पलाँस' रिलिजको बेला निर्मात्री कृषा चौलागाइले समय माग्दा, कामेश्वर चौरसियाले मिडियाको सूची मागेको चर्चाले सिनेवृत राम्रै तातेका थियो । कामेश्वरले केहि चर्चित मिडिया हाउसका पत्रकारसँग मात्र इन्टरभ्यू दिने भन्दै कृषासँग मिडियाको सूची मागेका थिए । तर, बुधवार उनले यो कुरालाई प्रष्ट पारे । मिडियाले सोधेको प्रश्नमा कामेश्वरले भने, 'मैले त्यस्तो भनेको थिइन् । मेरो हैसियत नै कहाँ छ र मिडियालाई अन्तर्वार्ता दिन्न भन्ने ।' 
 
उनले आफू साधारण कलाकार भएको भन्दै मिडियाको प्रश्नबाट पन्छिन खोजेपनि निर्माताहरु फिल्म रिलिजको समयमा कामेश्वरको साथ खोज्ने गर्छन । तर, उनी बेपत्ता झैँ हुन्छन् । बुधवार संभवत पहिलो पटक आफू अभिनित फिल्मको एक कार्यक्रममा कामेश्वर देखिए । निर्धारित समयभन्दा निकै ढिलो आएपनि आफू अभिनित फिल्म 'फाटेको जुत्ता'को गीत सार्वजनिक कार्यक्रममा उनी उपस्थित भएका थिए । सौगात मल्ल, प्रियंका कार्कीसँग काम गर्न पाउँदा खुशी महशुस गरेको बताउँदै उनले 'फाटेको जुत्ता' राम्रो फिल्म बनेको बताए । 
 
हुनत, कामेश्वर मात्र एक यस्ता कलाकार होइनन् । धेरै सुपरिचित स्टारहरुले पनि आफू अभिनित फिल्मको प्रचारमा प्रशस्त समय दिने गर्दैनन् । रेखा थापा, राजेश हमाल, निखिल उप्रेती, सौगात मल्ल लगायतका कलाकारहरु फिल्म प्रचार-प्रसारको समयमा बेपत्ता हुने गरेको आरोप लाग्दै आइरहेको छ । फिल्ममा व्यस्त हुनु राम्रो हो, तर प्रचारमा पनि समय दिनु कलाकारको दायित्व होइन र ?