नायक प्रदीप खड्का अहिलेका 'हट केक' हुन् । 'प्रेमगीत' र 'प्रेमगीत २' पछि उनको क्रेजको चर्चाले सिनेवृतमा पनि राम्रै भूकम्प ल्याएको छ । तर, केही दिनदेखि प्रदीप खड्काको खुबै आलोचना भैरहेको छ । फिल्म 'लिली-बिली'को घोषणा सभामा ४ बडिगार्डसहित ईन्ट्री गरेपछि प्रदीप खड्काको विषयमा सामाजिक सञ्जालमा खुबै मजाक उडाइयो । त्यसको जवाफ उनले ‘प्रेमगीत २’ले सफल प्रदर्शनको ५१ औं दिनको अवसर पारेर मनाइएको उत्सवमा दिए ।
प्रदीपले आफूलाई बडिगार्डले छेकेको भन्दा दर्शकले उचालेको मन पर्ने बताए । उनले भने, ‘न मलाई बडिगार्ड चाहिएको थियो न त भोलीका दिनमा बडिगार्ड चाहिएला भन्ने लाग्छ । यदी कसैलाई सुरक्षा थ्रेट छ भने मेरो विचारमा सरकारले प्रहरी उपलब्ध गराउँछ । अर्को कुरा म पनि सुरक्षाकर्मी लिएर हिँड्न सक्छु यदी मलार्ई सुरक्षा थ्रेट छ भने । तर, मलाई तीन करोड नेपालीले माया गरेको बेलामा बडिगार्ड आवश्यक छैन ।’
प्रदीपले अगाडि भने, ‘हलमा दशौँ हजार दर्शक हुँदा बडिगार्ड चाहिएन भने त्यो प्रेस मिटमा मलाई बडिगार्ड आवश्यक थिएन । तर, त्यो निर्माण टिमले एउटा कलाकारलाई दिएको सम्मान हो । म पव्लिकमा जान मन पराउने मान्छे हुँ ।,’ नायक प्रदीपलाई आइतवार निर्माता सन्तोष सेनले ५३ लाखको कार गिफ्ट गरेका छन् ।