मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

लक्की साम्राज्ञी !

मनिष अन्जान, काठमाण्डौ, 2017/09/11
 
सुपरहिट फिल्म 'ड्रिम्स'मा अनमोल केसीकी जोडी बनेर आएकी साम्राज्ञी राज्यलक्ष्मी शाह अहिलेकी सर्वाधिक चर्चित नायिका हुन् । पहिलो फिल्मबाटै सफलताको शिखर चुमेकी साम्राज्ञी अभिनित दोस्रो फिल्म 'ए मेरो हजुर २' हाल प्रदर्शन भैरहेको छ । अनमोल केसीको स्टारडमका कारण 'ड्रिम्स' सुपरहिट भएको चर्चा चलिरहँदा साम्राज्ञीका लागि 'ए मेरो हजुर २' हिट हुन आवश्यक थियो । उनलाई दर्शकको दिमागमा जरा गाडेर बसेको अनमोल केसीका कारण हिट भएकी नायिका भन्ने सोच फ्याल्न जरुरी थियो र 'ए मेरो हजुर २' बाट उनी सफल पनि भईन् । 
 
प्रदर्शनको तीन दिनमा ३ करोड ४१ लाख २९ हजार ग्रस कलेक्सन गरेको फिल्मले हालसम्ममा झण्डै ६ करोडको आसपासमा पैसा बटुलिसकेको छ । १ करोड १० लाखमा निर्माण भएको फिल्मको लाइफटाइम कलेक्सनबाट निर्मातालाई ३ करोड हात पर्ने स्रोत बताउँछ । 'ड्रिम्स'बाटै स्टार नायिकाको रुपमा परिचित साम्राज्ञीलाई 'ए मेरो हजुर २' हिट भएसँगै फेरि व्यस्त नायिका बनाएको छ । अहिले सिनेवृतमा साम्राज्ञीलाई 'लक्की नायिका' समेत भन्न थालिएको छ । 
 
पहिलो फिल्ममा नायक अनमोल केसीले अधिकांश क्रेडिट लिँदा साम्राज्ञीको अभिनयको तारिफ भएको थियो । तर, 'ए मेरो हजुर २' बाट भने सबै क्रेडिट साम्राज्ञीले आफ्नो पोल्टामा पारिन् । 'ड्रिम्स'बाट लोभलाग्दो फ्यान क्रेज बनाएकी साम्राज्ञीको 'ए मेरो हजुर २' बाट झन चुलिएको छ । अब आफ्नो क्रेज जोगाएर राख्न पनि साम्राज्ञीलाई उतिक्कै चुनौतीपूर्ण छ । 
 
अब साम्राज्ञी अभिनित फिल्म 'तिमीसँग' प्रदर्शनमा आउन बाँकी छ भने हाल उनी 'इन्टु मिन्टु लन्डनमा' फिल्मको काममा व्यस्त छिन् । उनको केमियो रहेको फिल्म 'मंगलम' यही वर्षको फागुन ४ गतेबाट प्रदर्शनमा आउँदैछ । यी फिल्मले पनि साम्राज्ञीको आगामी फिल्मी गोरेटो कता लैजाने भन्ने कुराको निर्धारण गर्नेछ ।