मिति : २०७४ आश्विन ४, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'ह्याप्पी बर्थ डे' जीवन लुइँटेल !

फिल्मीखबर, काठमाण्डौ, 2017/09/10
 
अभिनेता जीवन लुइँटेल आज आइतवारबाट ३६ बर्ष पूरा भएका छन् । २०३८ साल भाद्र २५ गते बिहीवारका दिन बिराटनगरमा जन्मेका जीवनले आफ्नो जन्मदिन अमेरिकामा मनाउँदै छन् । झण्डै ३ वर्षदेखि जीवन स-परिवारसहित अमेरिकामा छन् । एकपछि अर्को फिल्म असफल भएपछि अहिले जीवनका फिल्मी करिअर सुस्ताएको छ । उनी अभिनित पछिल्लो फिल्म 'लेकसाइड' गएको वर्ष हलमा लागेको थियो । 
 
सन २००२ मा मिस्टर नेपाल भएपश्चात मोडलिङ करिअर शुरू गर्दै रंगिन दुनियाँमा प्रवेश गरेका जीवनले भिडियो फिल्म 'तिर्खा'मा अभिनय गरेसँगै आफ्नो फिल्मी करिअर शुरू गरेका हुन् । 'सानो संसार' र 'मेरो एउटा साथी छ' फिल्ममा छोटो भूमिका निर्वाह गरेका जीवन बिकास आचार्य निर्देशित 'नसिब आफ्नो'बाट सोलो हिरोको रूपमा उदाए । दुई दर्जन जसो फिल्ममा अभिनय गरिसकेका जीवन एकसमय सर्वाधिक व्यस्त अभिनेताको रूपमा चिनिन्थे । 
 
बिकास आचार्यले नै निर्देशन गरेको फिल्म 'नाइ नभन्नु ल' जीवनको करिअरको टर्निङ प्वाईन्ट भएर आयो । यसै फिल्मबाट जीवन दर्शकको नजरमा बस्न सफल भए । आजका दिनसम्म पनि उनी दर्शकको नजरमा बसिरहेका छन् । नेफ्टा अवार्डमा पहिलो फिल्म 'नसिब आफ्नो'बाट उत्कृष्ट नव अभिनेताको अवार्ड उचालेका जीवनले त्यसपश्चात थुपै फिल्मबाट उत्कृष्ट अभिनेताको अवार्ड हात पारिसकेका छन् । फिल्मीखबर डटकमले आयोजना गरेको 'अनलाईन फिल्मीखबर अवार्ड (ओफा)बाट पनि जीवनले पपुलर अभिनेताको अवार्ड पाएका थिए । 
 
थुप्रै हिट फिल्म दिएका जीवन नायक मात्र होइनन् कवि पनि हुन् । उनले 'नायक' नामक आफ्नो कविता संग्रह बजारमा ल्याइसकेका छन् । रेखा थापासँग जोडी मिल्ने अभिनेताका रूपमा स्थापित जीवनले अभिनय यात्राका क्रममा आफ्नो पुस्ताका प्रायः सबै अभिनेत्रीसँग अन-स्क्रिन रोमान्स गरिसकेका छन्। नेपाली फिल्म क्षेत्रका सफल अभिनेता जीवनलाई जन्मदिनको लाखौंं लाख शुभकामना ।