मिति : २०८१ वैशाख २८, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

'ए मेरो हजुर २' लाई एक हप्तामा ५ करोड

फिल्मीखबर, काठमाण्डौ, 2017/09/08
 
गएको हप्ताको शक्रवारबाट प्रदर्शनमा आएको फिल्म 'ए मेरो हजुर २' को एक हप्ते कलेक्सन सार्वजनिक भएको छ । प्रदर्शनको पहिलो दिनदेखि आक्रामक कलेक्सन गरेको फिल्मले एक हप्तामा ५ करोड ग्रस कलेक्सन गरेको छ । आजबाट दोस्रो हप्तामा प्रदर्शन आरम्भ गरेको फिल्मको तीन दिने विकेन्ड कलेक्सन ३ करोड ४३ लाख ४१ हजार थियो । यस्तै, बाँकी चार दिनमा फिल्मले देशभरबाट कूल १ करोड ५९ लाख ४३ हजार कलेक्सन गर्‍यो। 
 
आज शुक्रवार एक मात्र नेपाली फिल्म प्रदर्शनमा आएका कारण दोस्रो हप्तामा पनि 'ए मेरो हजुर २' को व्यापारिक रिपोर्ट सुखद रहने निर्माण पक्षको विश्वास छ । प्रदर्शनको तीन दिनमा नै लगानी सुरक्षित गरेको फिल्मले एकहप्तामा कूल ५ करोड २ लाख ८४ हजार ग्रस कलेक्सन गरेको वितरकले जानकारी दिए । 'दुई रुपैयाँ' का कारण दोस्रो सातामा फिल्मको ३० प्रतिशत मात्र शो कटौती भएको छ । 
 
काठमाडौंभित्र फिल्म वितरणको जिम्मा लिएका गोविन्द शाहीले ‘ए मेरो हजुर २’ को कलेक्सन यसवर्ष प्रदर्शनमा आएका फिल्महरुको भन्दा उच्च रहेको जानकारी दिए । उनले भने, 'प्रदर्शनको पहिलो दिनदेखि दोस्रो हप्ताको सुरुवातसम्म सबै हलमा दर्शक टनाटन छन् । दोस्रो सातापनि फिल्मको कलेक्सन सुखद हुनेमा हामी विश्वस्त छौ ।' यस्तै, मोफसल वितरणको जिम्मा लिएका वितरक केदार पराजुलीले भने, 'काठमाण्डौ बाहिरका सबै हलमा दोस्रो साताको पहिलो दिनपनि दर्शक हाउसफूल छन् । प्रदर्शनको पहिलो साता त फिल्मले रेकर्ड ब्रेक कलेक्सन गर्‍यो ।' 
 
झरना थापा निर्देशित यो फिल्ममा सलोन बस्नेत, साम्राज्ञी राज्यलक्ष्मी शाह, सलिनमान बनिया, अम्बर सुवेदी, अनुभव रेग्मी, अजश्र ढुंगाना, वुद्धि तामाङ, अनुराग कुँवर लगायतका कलाकारहरुको अभिनय छ । फिल्म हेरेपछि दर्शकले यसको संगीत, कलाकारको अभिनय, पटकथा, संवाद र कमेडी पाटोलाई मन पराएका छन् । नायक सलोन बस्नेतको अभिनयलाई सबैभन्दा धेरै रुचाइएको छ ।
 
सुहाना इन्टरटेनमेन्टको ब्यानरमा सुनीलकुमार थापाले निर्माण गरेको फिल्मको कथा हरिहर अधिकारीले लेखेका हुन् भने फिल्मको पटकथा सामीप्यराज तिमल्सेनाको हो । फिल्मलाई सन्जय लामाले खिचेका हुन् । बसन्त सापकोटाको संगीत रहेको फिल्ममा बसन्त अधिकारी सहायक निर्देशकको रुपमा रहेका छन्।