.jpg)
नेपाली फिल्म क्षेत्रमा धेरै कलाकारहरु उदाउँदै अस्ताउँदै गर्ने चलन नौलो हैन । वि.सं २०५७/५८ मा फिल्म ‘आगो’ बाट करिअर सुरु गरेका नायक सुशील क्षेत्री अहिले कहाँ छन् ? के गर्दैछन् ? यो दर्शकको चासोको विषय बन्दै गएको छ । नेपाली फिल्ममा आफ्नो राम्रो चमक रहँदा सुशीलले सयभन्दा बढी नेपाली फिल्ममा अभिनय गरे भने एक दर्जन भोजपुरी फिल्ममा पनि उनले मुख्य भूमिका निर्वाहा गरेका छन् ।
एकसमय एकपछि अर्को हिट फिल्म दिने नायक सुशील अहिले फिल्मबाट टाढा देखिन्छन् । पछिल्लो समय उनी अभिनित फिल्म 'बिच बाटो' प्रदर्शनमा आएको थियो । लगातार एकपछि अर्को फिल्म असफल हुन थालेपछि सुशीलको फिल्मी करिअर पनि सुस्ताउन थालेको हो । केहीदिन अगाडि उनी फिल्म 'ए मेरो हजुर २' को प्रिमियरमा सहभागी भएका थिए । एक्सन नायकको रुपमा आफूलाई स्थापित गराएका सुशील सोझा, मिलनसार नायकको रुपमा चिनिन्छिन् ।
'आगो'बाट अभिनय यात्रा थालेका सुशीलले 'आगो टू'सम्म आइपुग्दा आफ्नो भएभरको क्रेज चौपट बनाए । एक समय पर्दामा जमेका तथा दर्शकमा केहि छाप छाडेका सुशीलको योगदानलाई फिल्म उद्योगले बिर्सिन हुँदैन । तर, एकपछि अर्को गर्दै फिल्म फ्लप हुँदै गर्दा उनको योगदान छायाँमा परेको छ । भेटेको स्टोरीमा फिल्म गर्न राजी हुनुले त कतै उनको यो अबस्था आएको होईन ?
केही वर्षदेखि उनलाई पर्दामा नदेखिनुले एउटा कुराको के पुष्टि गर्छ भने अब सुशीलको फिल्मी करिअरले विश्राम लिएको छ । हालैमा उनले फिल्म 'ब्ल्याक'को छायाँकन सकाएका छन् । संभवतः यो फिल्म यसै वर्ष प्रदर्शनमा आउँदैछ । लगातार एकपछि अर्को फिल्मले भत्याएको सुशीलको फिल्मी बाटो के 'ब्ल्याक'ले मिलाउने काम गर्ला ? प्रतिक्षा गरौ ।
सुशीलले अभिनय गरेका आगो, मुग्लान, मुस्कान, इन्द्रेणी, त्रिवेणी, गंगाजल, बाजी, उपहार, सन्देश लगायतका फिल्महरु हिट मानिन्छन् ।

