.jpg)
हरेक कलाकारको लागि आफ्नो पहिलो फिल्मले निकै महत्व राख्छ। किनकी पहिलो फिल्म निकै मेहनतले पाइन्छ र दोस्रो त्यही फिल्ममा उसको करिअर टिकेको हुन्छ। 'ए मेरो हजुर २' बाट नेपाली फिल्ममा पाइला राखेका नव-नायक सलिनमान बनियाँलाई भने पहिलो फिल्ममै लोट्री लाग्यो । फिल्म रिलिज अगाडि नै संभावना बोकेको नायकको रुपमा हेरिएको सलिनलाई अब स्टार नायकको रुपमा हेरिन थालिएको छ ।
शुक्रवारबाट प्रदर्शनमा आएको फिल्मले यतिबेला सिनेमा घरहरुमा आक्रामक व्यापार गरिरहेको छ । तीन दिने विकेन्डमा फिल्मले झण्डै साढे ३ करोड ग्रस कलेक्सन गरिसकेको छ । 'ए मेरो हजुर २' हिट भएसँगै सलिनलाई पनि ठूलो सफलता मिलेको छ । पहिलो फिल्म असफल हुन्थ्यो भने सलिनमान नयाँकै भिडमा हराउने पक्का थियो तर अब उनलाई अहिलेका चल्तीका स्टार्सलाई टक्कर दिने नायकको रुपमा हेरिएको छ ।
हुनत, 'ए मेरो हजुर २' बाट सलिनमानले अभिनयको भन्दा सुन्दरताको तारिफ गर्ने धेरै भेटे । उनको अभिनय क्षमता औसत भएपनि आकर्षक लुक्सले ति सबै कुरा विर्सायो । आगामी दिनमा फिल्ममा जम्न आफ्नो अभिनयमा उनले अझ धेरै सुधार गर्नुपर्ने देखिन्छ । नत्र, अनमोल केसीलाई लागेको क्यूटनेश मात्र बेचेर स्टार भएको आरोप सलिनलाई पनि नलाग्ला भन्न सकिन्न । तर, सलिनले पहिलो फिल्मबाटै आफ्नो क्रेज भने लोभलाग्दो बनाएका छन् । अब यो जोगाएर राख्न पनि सलिनलाई उतिक्कै चुनौतीपूर्ण छ ।
'ए मेरो हजुर २' हिट हुनमा सलिनमान मात्र मुख्य कारण होइनन् । साम्राज्ञी राज्यलक्ष्मी शाह, सलोन बस्नेत जस्ता परिचित अनुहार, झरना थापा निर्देशक, चर्चित ब्यानर, लोभलाग्दो मेकिङ, मनछुने कथावस्तु लगायतका यस्ता धेरै खुराक छन्, जसले 'ए मेरो हजुर २' हिट फिल्मको सूचीमा उभियो । 'ए मेरो हजुर २' बाट सलिन स्टार भएका हुन् वा होइनन् ? यसको रिजल्ट भने उनको दोस्रो फिल्म रिलिजपछि मात्र तय हुनेछ । तर, फिल्म क्षेत्रले एउटा आशलाग्दो नायक भने पाएको छ ।

