मिति : २०८१ वैशाख १६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘ए मेरो हजुर–२’ को विकेन्ड कलेक्सन ३ करोड ग्रस

फिल्मीखबर, काठमाण्डौ, 2017/09/04
 
सयभन्दा बढी फिल्ममा अभिनय गरिसकेकी नायिका भरना थापा निर्देशित पहिलो फिल्म ‘ए मेरो हजुर–२’ले यतिबेला सिनेमा घरहरुमा आक्रामक व्यापार गरिरहेको छ । शुक्रबारदेखि राजधानी र मोफसलका झन्डै ६ दर्जन हलमा एकसाथ प्रदर्शनरत फिल्मले तीन दिने विकेन्डमा तीन करोड ग्रस कलेक्सन गरेको वितरकले बताएका छन् । 
 
काठमाडौं वितरक गोविन्द शाहीले शनिवारको कलेक्सन अहिलेसम्मकै उच्च रहेको बताए । उनले भने, 'हामीले कल्पना पनि गरेका थिएनौ फिल्म हेर्न दर्शक यसरी ओहिरिन्छन् भनेर । हामी आफैँलाई विश्वास लागेको छैन । बिहान र दिउँसोको शोमात्र होइन साँझको शोसमेत सिंगल र मल्टिप्लेक्समा हाउसफूल भएको छ । फिल्मले प्रदर्शनको तीन दिनमा काठमाडौंबाट मात्र १ करोड ८४ लाख २८ हजार कलेक्सन गर्‍यो ।' उनका अनुसार, काठमाडौंबाट फिल्मले प्रदर्शनको दिन ४५ लाख ३८ हजार, दोस्रो दिन ८७ लाख ७५ हजार र तेस्रो दिन ५३ लाख १५ हजार कलेक्सन गरेको छ । 
 
यस्तै, फिल्मको मोफसल वितरणको जिम्मा सम्हालेका केदार पराजुलीले भने, '‘ए मेरो हजुर २’ को व्यापार सुन्दा हामी आफैँलाई पत्यार लागेको छैन । ३ हजार पनि व्यापार नगर्ने हलमा फिल्मले ३५ हजारसम्म कलेक्सन गरेको छ । सबै हलमा दर्शक टनाटन छन् । फिल्म चल्छ त थाहा थियो तर यस्तो चल्छ भनेर मैँले कल्पना पनि गरेको थिइँन् ।' मोफसलबाट फिल्मले तीन दिनमा कूल १ करोड ५७ लाख १ हजार कलेक्सन गरेको वितरक पराजुलीले फिल्मीखबर डटकमलाई बताए । 
 
फिल्मले देशभरबाट प्रदर्शनको तीन दिनमा कूल ३ करोड ४१ लाख २९ हजारको विजनेश गर्न सफल भएको छ । तीन दिनको आक्रामक विजनेससँगै फिल्म नाफाको बाटोमा दौडिएको छ । लगातार सार्वजनिक विदा परेका कारण पनि ‘ए मेरो हजुर–२’ को व्यापार झन उकालो लाग्दो छ । भोली मंगलवार पनि सार्वजनिक विदा परेकाले मुलुकभरका सबै हल हाउसफुल हुने वितरक बताउँछन । ‘ए मेरो हजुर–२’ ले बलीउड फिल्म 'बादशाहो'लाई समेत विस्थापित गरेको छ । शुक्रवार 'बादशाहो' प्रदर्शनमा आएका हल अहिले ‘ए मेरो हजुर–२’ ले कब्जा गरिसकेको छ । 
 
यो फिल्ममा सलोन बस्नेत, साम्राज्ञी राज्यलक्ष्मी शाह, सलिनमान बनिया, अम्बर सुवेदी, अनुभव रेग्मी, अजश्र ढुंगाना, वुद्धि तामाङ, अनुराग कुँवर लगायतका कलाकारहरुको अभिनय छ । फिल्म हेरेपछि दर्शकले यसको संगीत, कलाकारको अभिनय, पटकथा, संवाद र कमेडी पाटोलाई मन पराएका छन् । नायक सलोन बस्नेतको अभिनयलाई सबैभन्दा धेरै रुचाइएको छ ।
 
सुहाना इन्टरटेनमेन्टको ब्यानरमा सुनीलकुमार थापाले निर्माण गरेको फिल्मको कथा हरिहर अधिकारीले लेखेका हुन् भने फिल्मको पटकथा सामीप्यराज तिमल्सेनाको हो । फिल्मलाई सन्जय लामाले खिचेका हुन् । बसन्त सापकोटाको संगीत रहेको फिल्ममा बसन्त अधिकारी सहायक निर्देशकको रुपमा रहेका छन्।