.jpg)
यस वर्षको बैशाखदेखि भाद्र दोस्रो सातासम्ममा दुई दर्जन फिल्म प्रदर्शनमा आइसकेका छन् । तर, ती मध्ये 'धनपति', 'म यस्तो गीत गाउँछु' र 'प्रेमगीत २' ले मात्र सुखद व्यापार गरे । यस्तैमा शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आएको झरना थापा निर्देशित फिल्म 'ए मेरो हजुर २'ले पनि बम्पर ओपनिङ गरेको छ । प्रदर्शनको पहिलो दिन सबैतिर हाउसफूल दर्शक भित्राएको फिल्मले देशभरबाट कूल ७८ लाख ग्रस कलेक्सन गरेको रिपोर्ट प्राप्त भएको छ ।
काठमाडौंमा फिल्म वितरणको जिम्मा लिएका गोविन्द शाहीले प्रदर्शनको दिन उपत्यका भित्रबाट 'ए मेरो हजुर २'ले कुल ४५ लाख ५० हजारको कलेक्सन गरेको जानकारी दिए । यस्तै, मोफसल वितरणको जिम्मा लिएका केदार पराजुलीले उपत्यका बाहिरबाट फिल्मले ३३ लाख २१ हजार कलेक्सन गरेको फिल्मीखबर डटकमसँगको कुराकानीमा बताए । प्रदर्शनको पहिलो दिन उपत्यका भित्र र बाहिर गरि फिल्मले कूल ७८ लाख ७१ हजार कलेक्सन गरेको छ ।
यस्तै, आज शनिवार सार्वजनिक विदा भएका कारण सिंगल र मल्टिप्लेक्समा विहानैदेखि दर्शकको थामिनसक्नुको भिड देखिएको छ । काठमाडौंका मल्टिप्लेक्समा शुक्रवार साँझ नै शनिवारका लागि सबै शोको टिकट सोल्ड आउट भैसकेको थियो। यस्तै, गोपीकृष्ण मुभीज र अष्टनारायण हलका ४ वटा पर्दामा बिहानकै शोमा दर्शक भरिभराउ छन् । गुण, गंगा, कलंकीमा पनि 'ए मेरो हजुर २' हेर्ने दर्शकको उपस्थिती थामिनसक्नुको रहेको वितरक गोविन्द शाहीले जानकारी दिए ।
सुहाना इन्टरटेनमेन्टको ब्यानरमा सुनीलकुमार थापाले निर्माण गरेको फिल्मको कथा हरिहर अधिकारीले लेखेका हुन् भने फिल्मको पटकथा सामीप्यराज तिमल्सेनाको हो । फिल्मलाई सञ्यज लामाले खिचेका हुन् । बसन्त सापकोटाको संगीत रहेको फिल्ममा बसन्त अधिकारी सहायक निर्देशकको रुपमा रहेका छन् ।
फिल्ममा सलोन बस्नेत, साम्राज्ञी राज्यलक्ष्मी शाह, सलिनमान बनिया, अम्बर सुवेदी, अनुभव रेग्मी, अजश्र ढुंगाना, वुद्धि तामाङ, अनुराग कुँवर लगायतका कलाकारहरुको अभिनय छ ।

