बायाँबाट नायिकाद्वय प्रियंका कार्की र वर्षा राउत ।
गत वर्ष प्रदर्शनमा आएको सुपरहिट फिल्म 'छक्का पञ्जा'को नेम सिक्वेल फिल्म 'छक्का पन्जा २' यसबर्षको असोज ११ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्ममा समावेश 'नाइनलको साडी' र 'झ्याम्म झ्याम्म' बोलको गीत पनि रिलिज भैसकेका छन् । 'छक्का पञ्जा'मा प्रियंका कार्की र वर्षा राउत मुख्य भूमिकामा थिए । फिल्मको कथावस्तु नै प्रियंका र वर्षाको वरिपरि घुमेको थियो ।
'छक्का पञ्जा २' मा एक नायिका थपिएकी छिन्, स्वस्तिमा खड्का । प्राप्त जानकारी अनुसार, 'छक्का पञ्जा २' मा प्रियंकाकी छोरीको भूमिका स्वस्तिमाले निर्वाह गरेकी छिन् भने पहिलो भागमा दीपकराज गिरीकी श्रीमती बनेकी वर्षा राउत यसपटक जितु नेपालको जोडी बनेर देखिँदैछिन् । फिल्ममा तीन नायिका भएपछि कसको भूमिका दमदार होला ? यी तीन नायिका मध्ये कुन नायिकाले दर्शकको नजरमा गतिलो छाप छोड्लान् ? यो प्रसंग अहिले चर्चामा छ ।
बायाँबाट क्रमशः नायिकात्रय स्वस्तिमा खड्का, प्रियंका कार्की र वर्षा राउत ।
प्रियंकाले धेरै सफल फिल्म दिइसकेकी छिन् भने वर्षाले पनि हिट फिल्ममा ह्याट्रिक मारिसकेकी छिन् । स्वस्तिमा भने हिट फिल्मको खोजीमा छिन् । नायकको मात्र होइन नायिका नायिका बीचको टक्करको खबर पनि नेपाली मिडियामा आउने गर्छ । अहिले सफल फिल्म दिने नायिकामा प्रियंका र वर्षाको नाम अगाडि आउँछ । हिट फिल्मको संख्याको भिडन्त विस्तारै प्रियांका र वर्षामा पनि देखिन सक्ने चलचित्रकर्मीहरु बताउँछन् ।
केही दिन अगाडि राजधानीमा आयोजित 'छक्का पञ्जा २' को 'झ्याम्म झ्याम्म' बोलको गीत सार्वजनिक कार्यक्रममा प्रियंका वर्षासँगभन्दा स्वस्तिमासँग बढी नजिक देखिइन् । झण्डै १ घण्टा लामो गीत सार्वजनिक कार्यक्रममा प्रियंका र वर्षाले खासै कुराकानी गरेको देखिएन । प्रियंका बढी जसो स्वस्तिमासँग कुरा गरिरहेकी हुन्थिन् भने वर्षाको ओठमा मात्र हाँसो देखिन्थ्यो । कतै उनीहरु बीच द्वन्द्व सुरु भएको त होइन ? 'छक्का पञ्जा २' को गीत रिलिज कार्यक्रममा यस्ता कानेखुशी पनि भए । तर, जस्तै भएपनि मिडियाको क्यामेरा अगाडि भने तीन नायिकाले पोज-पोजका तश्वीर खिचाए ।
बायाँबाट क्रमशः नायिकात्रय प्रियंका कार्की, वर्षा राउत र स्वस्तिमा खड्का ।
एक समय रेखा थापा र झरना थापा, करिश्मा मानन्धर र जल शाह, विपना थापा र निरुता सिंह जस्ता नायिकाहरुको द्वन्द्व राम्रै थियो । कतै अब प्रियंका र वर्षामा पनि यो द्वन्द्व सुरु भएको त होइन ?