
असोज ११ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको वर्ष २०७३ को सुपरहिट फिल्म 'छक्का पन्जा'को नेम सिक्वेल 'छक्का पन्जा २' को दोस्रो गीत सार्वजनिक भएको छ । सोमवार राजधानीमा एक कार्यक्रमका बिच फिल्ममा समावेश 'म त यता किनारामा' बोलको गीत सार्वजनिक गरिएको हो । गीतको भिडियोमा प्रियंका कार्की, विल्सन विक्रम राई, दीपकराज गिरी र बुद्धि तामाङ फिचरिङ छन् । गीतमा हरिवंश आचार्य र आस्था राउतको स्वर रहेको छ भने किरण कँडेलको संगीत र उत्तम सन्जेलको शब्द सुन्न सकिन्छ ।
गीतका कोरियोग्राफर कविराज गहतराज हुन् भने पुरुषोत्तम प्रधानले खिचेका हुन् । गीत सार्वजनिक कार्यक्रममा बोल्दै निर्माता तथा कलाकार दीपकराज गिरीले फिल्म 'छक्का पन्जा २' 'छक्का पन्जा'को फोटोकपी नभएको बताए । उनले भने, 'हामीले 'छक्का पन्जा २' लाई 'छक्का पन्जा'को फोटोकपी बनाएका छैनौं । गीतसंगीत पनि पहिलाको भन्दा फरक बनाएका छौं ।' यस्तै, निर्देशक दीपाश्री निरौलाले दर्शकलाई हँसाउन 'छक्का पन्जा २' बनाएको बताइन् । गीत रिलिज कार्यक्रममा निर्देशक दीपाश्रीको 'बर्थ डे' केक पनि काटिएको थियो ।
फिल्मका कार्यकारी निर्माता विकास आचार्य हुन् । पहिलो भागमा नदेखिएका स्वस्तिमा खड्का र स्वरूपपुरुष ढकाल यो फिल्मको लिड कलाकारको रुपमा रहेका छन् । फिल्ममा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, शिवहरी पौडेल, बुद्धि तामाङ, प्रियंका कार्की, किरण केसी, बर्षा राउत, निश्चल बस्नेत लगायतका कलाकारहरुको पनि मुख्य भूमिका रहेको छ ।
फिल्मको पटकथा तथा संवाद दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र अभिमन्यू निरवीले लेखेका हुन् । दीपक(दीपाको प्रस्तुतीमा तयार भएको यो फिल्ममा जीतु नेपाल, माग्ने बुढो डटकम, ताराचन्द्र चापागाँई, सुमन गिरीको लगानी रहेको छ ।
गीत हेर्नुस् :-

