
२०१७ को सुरुवातदेखि भारतमा धेरै बलीउड फिल्म प्रदर्शनमा आए । कतिले मनग्य आम्दानी पनि गरे भने कति फिल्मले पानी पनि भन्न पाएनन् । साउथको फिल्म 'बाहुबली २' ले सबैभन्दा बढी कमाई गर्ने रेकर्ड बनायो भने सलमान खान र शाहरुख खानको फिल्मले नाम जस्तो ठूलो काम गर्न सकेन ।
आउनुहोस्, यस्तो छ २०१७ मा सबैभन्दा बढी मुनाफा कमाउन सफल बलीउड फिल्म :-

१. निर्देशक राजामौलीको फिल्म 'बाहुबली २' ले यस वर्ष सबैभन्दा बढी मुनाफा कमायो । ९० करोड लागतमा बनेको यो फिल्मको हिन्दी संस्करणले मात्र ५११ करोडको विजनेश गर्यो । यो फिल्मले ४६८ प्रतिशत नाफा कमायो ।

२. यस वर्ष प्रदर्शनमा आएको अक्षय कुमारको 'ट्वाईलेट : एक प्रेम कथा' दोस्रो सबैभन्दा बढी मुनाफा गर्ने सफल फिल्म बनेको छ । २४ करोडको लागतमा निर्माण भएको यो फिल्मले अहिलेसम्म भारतबाट मात्र १२५ करोडको विजनेश गरेको छ । लागतको हिसाबले यो फिल्मले ४२२ प्रतिशत मुनाफा कमाएको छ । रोचक कुरा त के छ भने मुनाफाको मामलामा अक्षयको यो फिल्मले प्रभासको फिल्म 'बाहुबली २' लाई टक्कर दिइरहेको देख्न सकिन्छ ।

३. इरफान खान स्टारर 'हिन्दी मीडियम' तेस्रो सबैभन्दा बढी मुनाफा कमाउने फिल्म बनेको छ । २२ करोडमा निर्माण भएको यो फिल्मले ६९ करोडको विजनेश गरेको थियो । कमाईको हिसाबले यो फिल्मले २१३ प्रतिशत मुनाफा कमाएको छ ।

४. अक्षय कुमारको 'जोली एलएलबी २' चौँथो सबैभन्दा बढी मुनाफा कमाउने फिल्मको सूचीमा सामेल भएको छ । यो फिल्म निर्माण गर्न ४५ करोड लाग्यो र फिल्मले ११७ करोडको विजनेश गर्यो । लागत र कमाईको हिसाबले यो फिल्मले १६० प्रतिशत मुनाफा कमाएको छ ।

५. वरुण धवनको फिल्म 'बद्रीनाथ की दुल्हनिया' पाचौँ सबैभन्दा बढी मुनाफा गर्न सफल फिल्म बन्यो । ४५ करोडमा बनेको यो फिल्मले ११६ करोडको विजनेश गर्न सफल भयो । फिल्मको मुनाफा १५९ प्रतिशत छ ।

६. ऋतिक रोशनको 'काबिल' छैठौँ सबैभन्दा बढी मुनाफा गर्न सफल फिल्म बनेको छ । ५० करोडको लागतमा निर्माण भएको यो फिल्मले १२६ करोडका विजनेश गर्यो । यो फिल्मले १५३ प्रतिशत नाफा कमायो ।

