
सलिनमान बनियाँ, यो नामको अहिले राम्रै चर्चा छ । सलिनमान यस्ता भाग्यमानी नव-नायक हुन्, जसको क्रेज पहिलो फिल्म रिलिज अगाडि नै लोभलाग्दो छ । उनी अभिनित पहिलो फिल्म 'ए मेरो हजुर २' भाद्र १६ गतेबाट अल नेपाल प्रदर्शनमा आउँदैछ । सलिनमान अहिले पहिलो फिल्मबाट नै स्टार बन्ने दौडमा छन् । उनको लुक्स र हेयर स्टाइलमा पागल हुने युवतीहरु कम्ता छैनन् । नेपाली फिल्म क्षेत्रमा राइजिङ स्टारको रुपमा लिइएको सलिनमान केहीदिन अगाडि फिल्मको प्रचार प्रसारका लागि मोफसल दौडाहामा निस्किएका थिए ।
फिल्मकी निर्देशक झरना थापा, नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक सलोन बस्नेतसँग मोफसल दौडाहाको क्रममा सलोनको क्रेज गज्जबको देखियो । 'फिल्म 'ए मेरो हजुर २' को गीतसंगीत र ट्रेलरबाटै सलिन दर्शकमाझ क्लिक भैसकेका रहेछन्', निर्देशक झरना थापाले भनिन्, 'पहिलो फिल्म रिलिज अगाडि नै नव-नायकको यस्तो क्रेज मैँले पहिलो पटक देखेकी हुँ । फिल्म रिलिजभएपछि सलिनको फ्यान क्रेज झन बढ्नेमा दुईमत छैन ।'

चितवनमा 'ए मेरो हजुर २' ले आयोजना गरेको तिज विशेष कार्यक्रममा सलिन सयौँ यूवतीको भिडमा घेरिएका थिए । सेल्फी खिच्नदेखि उनलाई गालामा किस गर्ने यूवतीहरुको भिड थामिनसक्नुको लागेको थियो । सलिनको यो क्रेजले फिल्म 'ए मेरो हजुर २' को व्यापारमा पनि ठूलो मद्दत गर्ने निर्माण पक्षको विश्वास छ । यो फिल्ममा सलिनमान र साम्राज्ञी राज्यलक्ष्मीको जोडी बाँधिएको छ ।
सुहाना इन्टरटेनमेन्टको ब्यानरमा सुनीलकुमार थापाले निर्माण गरेको यो फिल्मको कथा हरिहर अधिकारीले लेखेका हुन् भने फिल्मको पटकथा सामीप्यराज तिमल्सेनाको हो । फिल्मलाई सन्जय लामाले खिचेका हुन् । बसन्त सापकोटाको संगीत रहेको फिल्ममा बसन्त अधिकारी सहायक निर्देशकको रुपमा रहेका छन्।
तश्वीर : दिनेश सिटौला

