
सन् १८१६ मा नेपालले ब्रिटिश साम्राज्यविरुद्व नालापानीमा युद्व लड्यो । संसारभरी नै आफ्नो साम्राज्य विस्तार गर्दै भारतसम्म आइपुगेको तत्कालिन ब्रिटिश इष्ट इन्डिया कम्पनीले सन् १८१६ को पूर्वाद्धताका नेपाली भूभागमा आफ्नो आधिपत्य कायम गर्न अघि बढेको थियो ।
सोही क्रममा तत्कालिन समयमा नेपालको भूभागमा पर्ने नालापानी आइपुगेको अंग्रेज सेनासँग नेपाली सेनाको मुठभेड भयो । तत्कालिन वीर गोरखाली सेना कप्तान बलभद्र कुँवरको नेतृत्वमा नेपालले अंग्रेजसँग बहादुरीपूर्वक लडाइँ लडेको थियो । कमजोर सैन्य शक्ति, प्रविधि इत्यादिका कारण उक्त लडाइँमा नेपालले विजय प्राप्त गर्न त सकेन तर, त्यसका बावजुद पनि नेपालले युद्धमा प्रस्तुत गरेको वीरता तत्कालिन शत्रुपक्ष र विश्व सैन्य इतिहासमै हालसम्म पनि उच्च प्रशंसित छ ।
नेपालको इतिहासमै एउटा गर्व गर्न लायक यो वीरताको गौरवपूर्ण तथ्य समेटेर नेपाली फिल्म निर्माण हुने भएको छ । 'नालापानी' नाम राखिएको यो फिल्मको शुक्रवार राजधानीमा एक कार्यक्रमका बिच औपचारिक निर्माण घोषणा गरियो । फिल्मलाई रिमेश अधिकारीले निर्देशन गर्नेछन् ।
झण्डै ९ करोडको लागतमा निर्माण हुने बताइएको फिल्म 'नालापानी'मा अर्जनजंग शाही, नवल खड्का, मनोज शाक्य, विशाल श्रेष्ठ, गीता अधिकारी लगायतका कलाकारहरुको मुख्य भूमिका रहनेछ । सम्राट शाक्य कार्यकारी निर्देशक रहेको फिल्ममा मजोन शाक्य निर्माताको रुपमा रहेका छन् । फिल्मको पटकथा तथा संवाद आशिष रेग्मीले लेखेका हुन् भने रोशन श्रेष्ठ फिल्मका द्धन्द्ध निर्देशक हुन् ।

