
आज हिन्दु महिलाहरुले परम्परागत हरितालिका तीज पर्व मनाउँदै छन् । हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउनका लागि कठोर व्रत गरी आफ्नो कामना पुरा गरेको धार्मिक कथन अनुसार यो पर्व मनाउने गरिन्छ । आज हिन्दु महिलाहरु व्रत बसेर शिवको पूजा आराधना सहित भजनकिर्तन र तिजका गीतमा नाचगान गर्छन् ।
आजैबाट तिज विदा खान चार नेपाली फिल्मले प्रदर्शन आरम्भ गरेका छन् । आज सार्वजनिक विदा भएका कारण पनि चार नेपाली फिल्मले एकसाथ प्रदर्शन आरम्भ गरेका हुन् । गत वर्षको तिजमा ‘लालजोडी’, ‘ब्रास्लेट’ र ‘वृन्दावन’ प्रदर्शन भएका थिए भने यसपालि तिजको दिन अर्थात् आजबाट ‘धुम–२’, ‘देश खोज्दै जाँदा’, ‘हामी शरणार्थी’ र ‘स्काउट’ देशव्यापी प्रदर्शनमा आएको छ ।
‘धुम–२’
ट्रन्डी फिल्मस्को व्यानरमा जाहन्वी बस्नेत र ब्रबिम बस्नेत प्रस्तुतकर्ता रहेको ‘धुम–२’मा जयकिशन बस्नेत, सिर्जना भट्टराई, रोहित रुम्बा, महिमा सिलवाल, सञ्जोग राणा, शोभित बस्नेत, उत्तम केसी, बसन्त तामाङ ‘बादल’लगायतका कलाकारको अभिनय छ । फिल्ममा लेखन, नृत्य, निर्माण र निर्देशन समेत जयकिशन बस्नेतको नै हो ।
‘हामी शरणार्थी’
भुटानबाट लखेटिएर नेपालमा शरण लिएर बसेका शरणार्थीहरुको कथामा निर्माता भएको फिल्म ‘हामी शरणार्थी’मा शिल्पा पोखरेल, जीवन भट्टराईलगायतले अभिनय गरेका छन् । फिल्मलाई विजय केरुङले निर्देशन गरेका हुन् । फिल्ममा अर्जुनकुमार पोखरेल, प्रकाश भण्डारी र प्रकाश शिवाकोटीको संयुक्त लगानी रहेको छ । फिल्ममा हिमाल केसीको एक्सन, उत्तमजंग लिम्बुको संगीत, कमल राइको नृत्य, बैजु सिंहको पटकथा तथा संवाद, सौरभ लामाको छायांकन छ ।
‘स्काउट’
गोविन्द गौतमको निर्देशनमा बनेको फिल्म स्काउटमा गरिमा पन्त, मधुकुमार श्रेष्ठ, रक्षा श्रेष्ठ, हेमन्त बुढाथोकीलगायतले अभिनय गरेका छन् । भद्रगोलमा अभियान गरेसँगै चर्चा कमाएकी रक्षाले यसै फिल्मबाट डेब्यु गरेकी हुन् । मधुकुमार श्रेष्ठको प्रस्तुतिमा निर्माण भएको फिल्ममा केदार प्रसाद पराजुली,कृष्ण लामिछाने र इश्वर तिवारीको लगानी रहेको छ ।
‘देश खोज्दै जाँदा’
नेपालमा दुई दशकदेखि शरणार्थी जीवन बिताइरहेका भुटानी शरणार्थीको शिविर बसाइको वास्तविक कथा प्रस्तुत गरिएको फिल्म ‘देश खोज्दै जाँदा’ लाई प्रकाश आङदेम्बेले निर्देशन गरेका हुन् । फिल्ममा मिना कोइराला, अरुणा कार्की, सरिता वली, तिब्बत राई, एलपी जोशी, शिवशंकर थापा, केशव आचार्य, टंक विकल्प, सुवास थापा र प्रताप सुब्बाको अभिनय छ।
हल र दर्शक संख्याका हिसाबले एकै साता चार फिल्म रिलिज हुनुलाई व्यापारिक रूपमा जोखिमपूर्ण मानिन्छ । अब यी चार फिल्म मध्ये बाजी भने कसले मार्ने हुन् त्यो हेर्न बाँकी छ ।
यसअघि यो मितिमा सुरेन्द्र पौडेल निर्देशित तथा अनमोल केसी अभिनित फिल्म ‘कृ’, निशा अधिकारीले निर्माण गरेको ‘झ्यानाकुटी’, शिशिर राणाको ‘तिमीसँग’ र साम्तेन भुटिया निर्देशित ‘तान्द्रो’ प्रदर्शन आउने कन्फर्म थियो । अन्ततः यी फिल्मको प्रदर्शन मिति स्थगित गरिएको छ ।

