Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कसरी बन्यो '२ रुपैयाँ' ? यस्तो छ भित्री कथा

फिल्मीखबर, काठमाण्डौ, 2017/08/22
 
भाद्र २३ गतेलाई रिलिज कन्फर्म गरिएको फिल्म '२ रुपैयाँ'को 'कुटुमा कुटु' बोलको गीत अहिले निकै चर्चामा छ । युट्युबमा सार्वजनिक गरिएको छोटो समयमा करोड भ्यू पाएको 'कुटुमा कुटु'सँगै फिल्मको दोस्रो गीत 'टल्क्यो जवानी' र ट्रेलरलाई पनि अहिले निकै रुचाइएको छ । ट्रेलरमा समावेश केही संवादहरु अहिले दर्शकहरुको जिब्रोमा खुबै झुण्डिरहेको छ ।  
 
प्रदर्शन मिति नजिकिँदै जाँदा प्रचार-प्रसारलाई आक्रामक बनाएको निर्माण पक्षले '२ रुपैयाँ' निर्माण गर्दाका केही रोचक कुराहरु खुलाएको छ । २०७० मा ‘कर्कश’ फिल्मको प्रदर्शनको लगत्तै यसका निर्देशक तथा कथाकार तथा कलाकार आशिफ शाहले ‘२ रुपैयाँ’ को खाका तयार गरेका थिए । नेपालको तराइ भूभागमा कम रकमको नोटको पृथक नम्बरलाई प्रयोग गरी कारोबार गरिने कुरा शाहले सानै उमेरदेखि नै सुन्दै आएका थिए । त्यही तरिकालाई कथामा गाँसेर एउटा हास्यप्रधान फिल्म बनाउँदा कस्तो होला भनेर उनले आफ्ना भाइ तथा फिल्मका निर्देशक असिम शाहसँग सल्लाह गरे । असिम शाहले यस्तो कथामा रोमान्स र द्वन्द्व उत्कृष्ट रूपले देखाउन सकिने कुरामा विश्‍वास राखेपछि ‘२ रुपैयाँ’ को लेखन कार्य सुरु भएको थियो । 
 
आशिफ शाह भन्छन्, ‘कर्कश फिल्मको प्रदर्शन पछि केही समयलाई छुट्टी लिन्छु भनेर लिएको समयमा नै मेरो दिमागमा २ रुपैयाँको कथा आएको हो । भाइसँग सल्लाह गरेँ । उसले पनि सहमति जनाए पछि हामीले निर्देशन भाइले गर्ने र मैले निर्माण सम्हाल्ने कुरा ठहर गर्‍यौँ ।’ 
 
 
फिल्मको विषयमा निश्‍चल बस्नेत भन्छन्, ‘आशिफ दाइले कथा सुनाउने बित्तिकै नै मैले आफूलाई जुरेलीको पात्रमा देखेँ । यदि मैले अभिनय गर्ने हो र प्रमुख पात्र नै बनेर अभिनय गर्ने हो भने म यस्तो खालको पात्र खेल्छु भन्ने सोच मेरो पहिल्यै नै थियो । दाइले त्यो पात्रका बारेमा सुनाउने बित्तिकै नै म अभिनय र निर्माण दुबैका लागि हौसिएँ ।’ 
 
‘यो फिल्ममा निर्देशकको मात्र भूमिका भइदिएको भए सायद मैले एक्सन र कट् बाहेक अरू केही गर्नु पर्दैनथ्यो होला । तर जुन समयदेखि २ रुपैयाँको जरा गाडिएको थियो, म त्यही बेलादेखि नै यसमा मल-जल गर्दैछु । त्यसैले यसमा मेरो मिहिनेत र लगनमात्र जोडिएको छैन, मेरो भावना र अन्तरङ्ग पनि जोडिएको छ ।’, निर्देशक असिम शाहले भने । 
 
कलाकार बुद्धि तामाङ र विशेष भूमिकामा देखिएकी अभिनेत्री स्वस्तिमा खड्का यो फिल्मसँग आबद्ध हुनुको पनि आफ्नै छुट्टै रोचक प्रसङ्ग छ । बुद्धि तामाङ भन्छन्, ‘आशिफजीले कथा सुनाउन्जेल पनि म आफू कुन चैँ भूमिकामा ठीक हुन्छु होला त भन्ने कुरा सोच्दै थिएँ । कथा भन्दै जानुभो, म सुन्दै गए । आफू कुन पात्रमा हुन्छु भन्ने सोचै आएको थिएन । अनि कथाको अन्त्य सुनाउनु भयो – साह्रै नै मजा लाग्यो । अनि आफैँ प्रश्‍न गरेँ – के मैले असईको भूमिका गर्ने हो ।’ 
 
त्यस्तै, ‘कुटुमा कुटु’ गीतका लागि केहि अभिनेत्रीहरूसँग कुरा पनि चलिरहेकै थियो । फिल्मको छलफलको क्रममा नै कलाकार आशिफ शाहले निश्‍चल बस्नेतलाई आग्रह गरे, ‘घरमै मान्छे हुँदा-हुँदै हामी किन बाहिर खोज्दै छौँ ? स्वस्तिमा भए हुन्न र ?’ निश्‍चल बस्नेतलाई यो प्रस्ताव ठीक हो जस्तो लाग्यो र स्वस्तिमा खड्कासँग कुरा अगाडि बढ्यो । निश्‍चल बस्नेत र स्वस्तिमा खड्काको जोडीले पनि गीतलाई चर्चा तिर डोर्‍याउन धेरै मद्दत गरेको छ । 
 
 
निर्देशक असिम शाह भन्छन्, ‘फिल्म २ रुपैयाँ कस्तो छ भन्ने प्रश्‍नको उत्तर सजिलो छ । हामीले यो फिल्म मनैदेखि बनाएका हौँ । यसमा देखा पर्ने साना पात्र निर्वाह गर्ने कलाकारहरूले पनि धेरै नै मिहिनेत गर्नुभएको छ । समग्रमा फिल्म मनोरन्जनात्मक बनेको छ । भदौ २३ देखि उता सिनेमाघरमा आउने दर्शकलाई भरपूर मनोरन्जन दिएरै पठाउनेछौँ भन्ने वाचा मेरो छ ।’  
 
'कुटुमा कुटु' गीतको भिडियो हेर्नुस् :-
 

Most Visited News (monthly)