
युवा स्टार अनमोल केसीले अमेरिकामा आयोजना भएको 'दोस्रो खुम्बु खोल्स ग्लोबल नेपाली फिल्म अवार्ड'मा ‘उत्कृष्ट नायक’को अवार्ड उचालेका छन् । पिता भुवन केसीको हातमा अनमोलले अवार्ड ग्रहण गरेका थिए । अनमोलले फिल्म 'गाजलु'बाट ‘उत्कृष्ट नायक’ को अवार्ड उचालेका हुन् । यस्तै, 'लभ साशा'बाट नायिका केकी अधिकारीले उत्कृष्ट नायिकाको अवार्ड उचालिन् ।
'ग्लोबल नेपाली फिल्म अवार्ड'मा 'छक्का पन्जा' उत्कृष्ट फिल्म घोषित भयो भने 'छक्का पन्जा'बाटै नायिका दीपाश्री निरौलाले उत्कृष्ट निर्देशकको अवार्ड उचालिन् । वरिष्ठ कलाकार टीका पहारीलाई लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको थियो भने नायक अर्जुनजंग शाही र सुवर्ण क्षेत्री एचिभमेन्ट अवार्डबाट सम्मानित भए ।
यस्तै, ‘बेष्ट को-एक्टर’को उपाधि 'छक्का पन्जा'बाट जितु नेपाल ‘मुन्द्रे’ले प्राप्त गरे भने नायक रवीन्द्र खड्का, कलाकार मुकुन्द किशोर भट्टराई, चलचित्र निर्देशक/लेखक राजेन्द्र सलभ, निर्देशक नारायण पुरी, गायिका निलम श्रेष्ठ, फोटोग्राफर राजीब श्रेष्ठ र कलाकार कृष्ण मुरारी ढुंगेल स्पेशल अवार्डबाट सम्मानित भए ।

'दोस्रो खुम्बु खोल्स ग्लोबल नेपाली फिल्म अवार्ड'मा सहभागी हुनका लागि नेपालबाट शिव परियार, यम बराल, कलाकार कृष्ण मल्ल, मदु श्रेष्ठ, भुवन केसी, सुनिल थापा, अर्जुनजंग शाही, रवीन्द्र खड्का, टीका पहारी, अनमोल केसी, दीपाश्री निरौला, केकी अधिकारी, केदार घिमिरे ‘माग्नेबुढा’, जितु नेपाल ‘मुन्द्रे’ लगाएतका कलाकारहरू अमेरिका पुगेका थिए ।

