हास्यकलाकार जितु नेपाल समसामयिक विषयमा झटारो हान्न माहिर मानिन्छन् । राजनीतिज्ञ होस् वा आफूलाई नै किन नहोस् उनको दमदार कमेडीले सबैको ध्यान खिच्न सफल हुन्छ । '६ एकान ६', 'वडा नम्बर ६', 'छक्का पन्जा' लगायत दर्जन बढी फिल्ममा अभिनय समेत गरिसकेका जितु नेपालले अभिनय गरेको नयाँ फिल्म 'छक्का पन्जा २' असोज ११ गतेबाट प्रदर्शनमा आउँदैछ ।
शुक्रवार रमेश उप्रेतीको अभिनय र निर्माण रहेको फिल्म 'ऐश्वर्य'को गीत सार्वजनिक कार्यक्रममा जितु नेपाल पनि उपस्थित थिए । उनी फिल्मका न कलाकार हुन न त निर्माता नै । रमेश उप्रेतीको निमन्त्रण स्वीकार गर्दै उपस्थित भएका जितुलाई गीत सार्वजनिक कार्यक्रममा स्वागत मन्तव्यका लागि अगाडि स्टेजमा बोलाइयो । स्वागत मन्तव्यसँगै उनले झण्डै ८ मिनेट लामो कसिलो कमेडी झटारो हान्न पनि छुटाएनन् । यसपटक भने उनको झटारो नेपाली फिल्मका कलाकार, निर्माता र दर्शक प्रति थियो ।
उनले भने, ‘हाम्रो यस्तो खतरा पेशा रै'छ आफूलाई फिल्म राम्रो लागेर नहुने दर्शकलाई नै मन पर्नु पर्ने । ३ महिना लगाएर बनाएको फिल्म ३ सेकेण्डमा नै निर्धारण गरिन्छ । दर्शकले खत्तम भने फिल्म गयो आगो भने सुपरहिट हुन्छ । हामी कसैले पनि फुर्ति लगाउनु पर्दैन मेरो फिल्म यस्तो र उस्तो छ भनेर, दर्शकले फिल्म कस्तो छ त्यो ३ सेकेण्डमा निर्धारण गर्छन ।’
उनले मल्टिप्लेक्सका दर्शकलाई पनि चोटिलो प्रहार गर्न छाडेनन् । उनले भने, ‘अहिले मूभी हेर्नेलाई चाहिँ कसरी हलसम्म तान्ने यसतर्फ हामी सबैको ध्यान जाने गरेको छ । पहिला फिल्म हेर्थेे अहिले मूभी हेर्छन् । त्यसैले अहिले मूभीवाला दर्शकको मन खिच्न जरुरी छ ।’
पछिल्लो समय नेपाली फिल्मको व्यापारलाई लिएरपनि जितुले कसिलो झटारो हाने । दुईदिनमा करोड माथिको कलेक्सन, फिल्मले रेकर्ड ताड्यो, दर्शकहरु फिल्म हेर्न मारामार लगायतका समाचारप्रति जितुले भने, ‘नेपाली फिल्मले दुईदिनमा करोडको व्यापार गरेको समाचार आउँछ । यसले प्रोडुसर मख्ख त पर्छन् तर त्यो खबर घरकी श्रीमतिले पत्याउँदिनन् । एक हप्ता चलेपछि पो फिल्मले हाइप लिन्छ अनि फिल्म चलेको वा नचलेको थाहा हुन्छ । अहिले त शुक्रवार हलमा दर्शक जम्मा भएपछि फिल्म सुपरहिट र मारामार भयो भन्ने समाचार आउँछ ।’
उनले अगाडि थप्दै भने, ‘मलाई त यस्तो लाग्छ अलिपछि हल भित्र होइन बाहिर चाहिँ दुई गाडि मान्छे ल्याएर माथि हिरोले हात हल्लाउँदा तल दर्शक टनाटन । यो मैले कसैलाई भनेको होइन किनकी म पनि निर्माता हुँ । यो हल्ला चाहिने क्षेत्र हो त्यसैले हल्ला चाहिँ हुनु पर्छ । तर, केही हल्लाले आफूलाई पनि हानी पुराउँछ । जबसम्म हामीले दर्शकले खोजे जस्तो राम्रो फिल्म बनाउँदैनौं तबसम्म कसैले केही गरेर पनि हुँदैनन् ।’ उनको यो कमेडी झटारोले सिटिसी हलमा उपस्थित सयबढी पत्रकार र चलचित्रकर्मीहरुको गज्जबको ताली पायो ।