साउन १३ गतेबाट प्रदर्शनमा आएको वर्षको हिट फिल्म 'प्रेमगीत २' आज शुक्रवारबाट तेस्रो हप्तामा प्रवेश गरेको छ । प्रदर्शनको पहिलो र दोस्रो हप्ता सुखद व्यापार गरेको फिल्मले तेस्रो हप्तामा पनि दर्शकहरुको राम्रो साथ पाउनेमा निर्माण पक्ष विश्वस्त देखिएको छ । प्रदर्शनको दिनदेखि दर्शकदेखि राजनीतिज्ञ, पत्रकार, कलाकार लगायतले 'प्रेमगीत २' हेर्ने क्रम जारी छ ।
बिहीवार राजधानीको कुमारी हलमा 'प्रेमगीत २' हेर्न मिस नेपाल निकिता चन्दक पनि पुगेकी थिइन् । एक वर्षे आफ्नो कार्यकाल सकिएपछि फिल्म क्षेत्रमा सक्रिय रहने बचनबद्धता दिइसकेकी निकिताले 'प्रेमगीत २' हेरेपछि नायक प्रदीप खड्काको खुलेरै तारिफ गरिन् । उनले भविष्यमा प्रदीपसँग एउटै फिल्ममा काम गर्ने अवसर मिले आफू तयार रहेको पनि बताइन् ।
उनले 'प्रेमगीत २' हेरिसकेपछि मिडियासँग कुराकानी गर्दै भनिन्, 'आफ्नो अध्ययनका लागि गीत थाइल्यान्ड गएपछि प्रेमको तड्पाईले मेरो मन निकै छोयो । फिल्मको रोमान्स, प्रेम, द्धन्द्ध, कमेडी सबै कुरा मलाई खुबै मन पर्यो। प्रदीप खड्काको अभिनयको त म फ्यान नै भएँ । भविष्यमा प्रदीपसँग एकसाथ फिल्म गर्ने अवसर मिल्यो भने म अवश्य गर्नेछु ।'
म्यानमारबाट नेपाल घुम्न आएकी युवती नेपाली युवकको प्रेममा परेपछि उत्पन्न हुने द्धन्द्ध ‘प्रेमगीत २’ को कथावस्तु हो । रामशरण पाठक निर्देशित फिल्म आशुसेन फिल्मसको ब्यानरमा बनेको हो। ‘प्रेमगीत २’ मा प्रदीप खड्का, अश्लेषा ठकुरी, कैलाश कटुवाल, कविता रेग्मी, शिशिर भण्डारी, कुमार कार्की, श्रद्धा प्रसाई लगायतका कलाकारहरुको मुख्य भूमिका छ ।
फिल्ममा रेनेशा वान्तवा राईको कोरियोग्राफी, अष्ट महर्जनको द्धन्द्ध, कल्याण सिंह, एलिस कार्की र रोहित जोन क्षेत्रीको संगीत छ । फिल्मलाई सन्तोष सेनले निर्माण गरेका हुन् ।