
नेपालमा अभिनेताहरुको पारिश्रमिकको खबरले बेलाबखतमा सिनेवृतमा ठूलै भूकम्प ल्याउने गर्छ । अनमोल केसीले २० लाख, प्रदीप खड्काले १५ लाख, आशिरमान देशराज श्रेष्ठले १५ लाख पारिश्रमिक लिएको खबरहरु यसअघि नै तपाईहरुले पढिसक्नुभएको छ । यो खबर पत्याउन चाहिँ तपाईहरुलाई निकै मुश्किल पर्छ किनकी अभिनेत्री गौरी मल्लको पारिश्रमिकले नेपालका स्टार नायकलाई समेत मात खुवाएको छ ।
फिल्मीखबर डटकमलाई स्रोतले दिएको जानकारी अनुसार, हालैमा उनले एक फिल्मका लागि दिनको डेढ लाख पारिश्रमिक मागेकी छिन् । फिल्मको स्क्रिप्ट अध्ययन गरेपछि गौरी मल्लले एकदिन काम गरे बापत आफूले डेढ लाख पारिश्रमिक लिने गरेको र उक्त रकम नपाए फिल्म नगर्ने बताएकी थिइन् । फिल्ममा उनले आमाको भूमिका निर्वाहा गर्नुपर्ने थियो ।
गौरी मल्लको यो पारिश्रमिकले अहिले सिनेवृतमा तरंग नै उत्पन्न गरेको छ । अब गौरी मल्ललाई फिल्म साइन गर्न चाहने निर्माताहरुले दिनको डेढ लाख दिन तयार हुन्छन् त ? एकदिनको डेढ लाख पारिश्रमिक लिने गौरी मल्लले फिल्मको छायाँकन सक्दासम्म चाहिँ कति लिन्छिन् ? स्रोतका अनुसार, उनी फिल्मका लागि ३० वा ३५ दिन समय दिनु परेमा २ देखि साढे २ लाख भन्ने गर्छिन् अर्थात्, यो भनौं निर्मातालाई उनले डिसकाउन्ट दिने गर्छिन् रे !
गौरी मल्लले यो पहिलो पटक होइन यसअघि केही फिल्मपनि चर्को पारिश्रमिकका कारण छाडेकी थिइन् । अनमोल केसी अभिनित फिल्म 'कृ'मा पनि उनलाई सबैभन्दा अगाडि आमाको रोल अफर गरिएको थियो तर चर्को पारिश्रमिकका कारण उनको ठाउँमा रुपा रानालाई फाइनल गरिएको खबर छ ।
के त्यसो भए नेपालका स्टार नायक वा नायिकाभन्दा पनि महँगो भईन् गौरी मल्ल ? दिनको डेढ लाख पारिश्रमिक माग्ने गौरी मल्ललाई यो रकम तिर्ने निर्माता भेटिएलान् ? अब यो त भोलीका दिनहरुले नै बताउनेछ । तर, उनको यो आकास छुने पारिश्रमिकले निर्मातालाई भने नमज्जाले तर्साएको छ ।

