.jpg)
साढे चार वर्षअघि तत्कालीन एमाओवादीमा तामझामसहित प्रवेश गरेकी नायिका रेखा थापाले गएको वर्ष राष्ट्रिय प्रजातन्त्र पार्टीमा पनि उस्तै तामझामसहित प्रवेश गरेकी थिइन् । राप्रपा प्रवेश गर्दै गर्दा उनले आफ्नो भाषणको क्रममा भनेकी थिइन्, 'यो मेरो पहिलो र अन्तिम पार्टी हो । म नेपालको र राप्रपाको झन्डा ओढेर मर्न चाहन्छु ।'
कमल थापाको आशिर्वादले राप्रपा नेपालको महाधिवेशनमा केन्द्रिय सदस्यमा समेत जित हासिल गरेकी रेखाले मंगलवार उनै कमल थापाको साथ छाडेकी छिन् । केहीदिन अगाडि मात्र पशुपति शम्शेर राणाले राप्रपा फुटाएर राप्रपा प्रजातान्त्रिक गठन गरेका थिए ।
मंगलवार रेखाले आफू राप्रपा प्रजातान्त्रिकमै रहेको आधिकारिकताको प्रमाण नेता दिपक बोहोरालाई बुझाउँदै कमल थापाको साथ छाडेकी हुन् । यस विषयमा बुझ्न फोनसम्पर्क गर्दा रेखासँग कुराकानी हुन सकेन ।
राप्रपा नेपालमा प्रवेश गर्दा रेखाले कमल थापाको तारिफ गर्दै भनेकी थिइन्, ‘जति बेलाबाट मैले राजनीतिमा चासो राख्न थालें, त्यति बेलादेखि म कमल थापाको ग्रेट फ्यान थिएँ, छु र रहिरहन्छु । कमल थापा एउटा सच्चा नेपाल आमाको सपुत हुनुहुन्छ ।’
रेखासँगै फिल्म निर्माता प्रदीप उदयले पनि पशुपति शम्शेरको प्यानल रोजेका छन् । गायिका कोमल वली भने कमल थापाकै पार्टीमा छिन् ।

