मिति : २०८१ वैशाख १६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘ड्रिम्स’ पछि ‘ए मेरो हजुर २’, साम्राज्ञीको प्रतिक्षा कति ?

मनिष अन्जान, काठमाण्डौ, 2017/08/07

 

सुपरहिट फिल्म ‘ड्रिम्स’मा अनमोल केसीकी जोडी बनेर आएकी हुन् साम्राज्ञी राज्यलक्ष्मी शाह । ‘ड्रिम्स’ साम्राज्ञीको डेब्यू फिल्म थियो । पहिलो फिल्म नै युवा स्टार अनमोल केसीसँग काम गर्ने मौका पाएकी साम्राज्ञीको ‘ड्रिम्स’ले नै भाग्य चम्कायो । पहिलो फिल्मबाट नै नसोचेको सफलता हात पारेकी साम्राज्ञीलाई अहिले नेपाली फिल्म क्षेत्रले सम्भावना बोकेकी नायिकाको रुपमा हेरेको छ । 

‘ड्रिम्स’मा उनको अभिनयको तारिफ सर्वत्र भयो । अनमोल केसीसँग काम गर्ने नायिकाहरु ओझेलमा पर्ने गरेको चर्चा चलिरहँदा साम्राज्ञीलाई भने त्यसको छायाँ पनि परेन । फिल्म अनमोलको क्रेजका कारण सुपरहिट भएतापनि ‘ड्रिम्स’ हेरेपछि साम्राज्ञीलाई रुचाउनेहरु पनि कम्ता भएनन् ।

 

तर, ‘ड्रिम्स’पछि साम्राज्ञी अभिनित कुनैपनि फिल्म हालमा लागेका छैनन् । झण्डै डेढ वर्षपछि साम्राज्ञी अभिनित दुई फिल्म भदौमा रिलिज हुँदैछन् । भाद्र ८ गते 'तिमीसँग' र भाद्र १६ गते 'ए मेरो हजुर २' । अहिले सबैभन्दा बढी प्रतिक्षामा छ फिल्म 'ए मेरो हजुर २' ।

 

नायिका झरना थापाले फिल्म निर्देशनमा डेब्यू गरेको फिल्म 'ए मेरो हजुर २' मा साम्राज्ञी मुख्य भूमिकामा छिन् । ‘ड्रिम्स’मा अनमोल केसीसँग रोमान्स गरेकी साम्राज्ञीले 'ए मेरो हजुर २' मा नव-नायक सलिनमान बाँनियासँग अनस्क्रिन रोमान्स गरेकी छिन् । ‘ड्रिम्स’ अनमोल केसीका कारण सुपरहिट भएको बहस चलिरहँदा अब साम्राज्ञीको करिअरका लागि 'ए मेरो हजुर २' हिट हुन आवश्यक देखिन्छ ।

 

'ए मेरो हजुर २' मा अन्य कलाकारभन्दा साम्राज्ञी परिचित अनुहार हुन् । यसैले पनि 'ए मेरो हजुर २' हिट बन्नमा साम्राज्ञीको ठूलो हात रहन्छ । हुनत, फिल्ममा साम्राज्ञीमात्र होइन सलोन बस्नेत र अनुभव रेग्मी जस्ता परिचित कलाकारहरुको पनि अभिनय छ । 


'ए मेरो हजुर २' हिट भए साम्राज्ञीले यो प्रमाणित गर्नेछिन् कि अब सोलो नायिकाको रुपमा पनि उनले दर्शक हलसम्म तान्न सक्नेछिन् । यतिमात्र होइन उनको माग र चर्चासँगै पारिश्रमिकले पनि आकास छुनेमा शंका छैन । डेढ वर्षसम्म रिजर्भ बस्दा दर्शकहरु साम्राज्ञीलाई हेर्न आतुर छन् कि छैनन् 'ए मेरो हजुर २' ले यो पनि प्रमाणित गर्नेछ ।

 

 

हालसालै सार्वजनिक भएका गीतसंगीत र ट्रेलरले नै फिल्मलाई वर्षको प्रतिक्षित फिल्मको रुपमा हेरिएको छ । फिल्म रिलिज अगाडि नै यस फिल्मका नव-नायक सलिनमान बाँनियाको क्रेजपनि गज्जबको छ ।


सुहाना इन्टरटेनमेन्टको ब्यानरमा सुनीलकुमार थापाले निर्माण गरेको फिल्मको कथा हरिहर अधिकारीले लेखेका हुन् भने फिल्मको पटकथा सामीप्यराज तिमल्सेनाको हो । फिल्मलाई सन्जय लामाले खिचेका हुन् ।

बसन्त सापकोटाको संगीत रहेको फिल्ममा बसन्त अधिकारी सहायक निर्देशकको रुपमा रहेका छन्।  यो फिल्म ‘ए मेरो हजुर’ को सिक्वेल हो । स्व. शिब रेग्मीको निर्देशन रहेको ‘ए मेरो हजुर’मा झरना थापा र स्व.नायक श्रीकृष्ण श्रेष्ठले मुख्य भुमिका थियो ।