.jpg)
लेखक सुविन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’ माथि बन्न लागेको फिल्ममा नायिका नम्रता सापकोटा अनुवन्धित भएकी छिन् । गएको वर्ष प्रदर्शनमा आएको सुपरहिट फिल्म 'छक्का पन्जा'मा जितु नेपालको अपोजिटमा काम गरेकी नम्रताले ‘समर लभ’मा सुस्मिताको भूमिका निर्वाहा गर्नेछिन् ।
फिल्ममा अतीत आफ्नो जागिरको शिलशिलामा पश्चिम जाँदा उनको भेट सुस्मितासँग हुन्छ । अतीत र सुस्मिता एउटै अफिसमा काम गर्ने गर्छन । साया अध्ययनका लागि विदेश गएपछि अतीत र सुस्मितामाथि नै कथा घुमेको छ । नम्रताले ‘समर लभ’मा निर्वाहा गर्न लागेको आफ्नो भूमिकालाई लिएर उत्साहित रहेको बताइन् । उनले भनिन्, 'म निकै खुशी छु । मलाई सबैभन्दा मनपर्ने पुस्तकमाथि नै काम गर्न लाग्दैछु ।' अहिले फिल्म ‘समर लभ’को वर्कसप चलिरहेको छ ।
साउन अन्तिमबाट फ्लोरमा जान लागेको फिल्म ‘समर लभ’ कारण नायिका सापकोटाले आफूले अभिनय गर्न लागेको अर्को फिल्म 'कान्छी' समेत छाडेकी छन् । उनले भनिन्, 'कान्छी र ‘समर लभ’को छायाँकन लगभग एकै समयमा हुने भएपछि आपसी सहमतीमा नै मैले 'कान्छी' छाडेकी हुँ । मलाई 'कान्छी' छाड्न मन थिएनँ तर बाध्यताले छाड्नु पर्यो ।'
फिल्म ‘समर लभ’लाई मुस्कान ढकालले निर्देशन गर्दैछन् । अल्लारे पाठकले अत्यधिक रुचाएको उपन्यासबाटै सामीप्यराज तिमल्सेनाले पटकथा लेखेका हुन् । नाइटिंगेल इन्टरटेनमेन्टको ब्यानरमा बनाउन लागिएको ‘समर लभ’ का चर्चित जोडी साया र अतीतको भूमिकामा नयाँ कलाकारलाई डेब्यु गराइएको छ ।
नेपाली मूलकी रेवती क्षत्रीले सायाको भूमिका निर्वाह गर्दै छिन् । यस्तै, अतीतका रूपमा भने आशिष पियाले अभिनय गर्नेछन् । पुष्पन प्रधानको संगीत रहने फिल्मको संवाद भने सुबिन र सामीप्यले संयुक्त रूपमा तयार पारेका हुन् ।

