मिति : २०८१ वैशाख ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 3.00/5.00)
Text size:-
+
-

पूजालाई दुवै हातमा लड्डु

मनिष अन्जान, काठमाण्डौ, 2017/08/04
 
पूजा शर्मा, यो नाम अब नेपाली दर्शकहरुका लागि कन्ठै भैसकेको छ । वर्ष २०७२ को हिट फिल्म 'प्रेमगीत' भन्दा अगाडि पूजा शर्मा एक गुमनाम अभिनेत्री थिइन् । आर्यन सिग्देल जस्ता स्टार नायकसँग फिल्म खेल्दा पनि पूजाको करिअर चम्कन सकेन थिएन । उनलाई पनि थियो फ्यानले सेल्फी खिच्न तछाड मछाड गरुँन, आफ्नो फिल्म हलमा लाग्दा दर्शकको थामिनसक्नुको भिड लागोस् र जताततै चर्चा आफ्नै मात्र होस् । 
 
'प्रेमगीत' रिलिजभन्दा अगाडि पूजाको यो सपना साकार त परै जाओस् निन्द्रामा पनि पूरा भएनन् । झण्डै आधा दर्जन फिल्मबाट निराशामात्र हात पारेकी पूजालाई वर्ष २०७२ लक्की वर्ष बनेर आयो । फिल्म 'प्रेमगीत'ले खासै दमदार व्यापार नगरेपनि दर्शकहरुबाट भने तारिफको वर्षा नै गरायो । योभन्दा ठूलो सफलता एक कलाकारका लागि अरु के नै पो होला र ? अनि त्यो निन्द्रामा पनि नदेख्ने सपना पूजाले विपनामा नै महशुस गर्न पाइन् । 
 
'प्रेमगीत' रिलिजपछि पूजा झण्डै डेढ वर्ष रिजर्भ बसिन् । र, सुदर्शन थापाको निर्माण र निर्देशनमा तयार हुने फिल्म 'म यस्तो गीत गाउँछु' साइन गरिन् । यो फिल्म असार ३० गतेबाट प्रदर्शनमा आएको थियो । हलमा पल शाह र पूजा शर्मालाई हेर्न सयौं दर्शकको भिड लाग्यो । शुक्रवार र शनिवार त टिकट समेत नपाएर दर्शक घर फर्किए । पहिलो हप्ता मात्र होइन दोस्रो हप्तामा पनि फिल्मले दर्शकको साथ राम्रो पायो । हालसम्म फिल्मले ४ करोड ग्रस विजनेश गरेको वितरक बताउँछन् । 
 
'म यस्तो गीत गाउँछु'ले पूजालाई फेरि हिट नायिकाको सूचीमा उभ्यायो । पूजा नायिकामा मात्र होइन निर्मात्रीमा पनि हिट भइन् । सुदर्शन थापा र पूजाले संयूक्त रुपमा 'म यस्तो गीत गाउँछु' निर्माण गरेका हुन् । नेपालमा यस्ता कमै नायिका होलान्, जसले अभिनय र फिल्म निर्माणमा पनि सफलता हात पारेका हुन् । अभिनय र फिल्म निर्माणमा रेखा थापामात्र सफल मानिन्छिन् । अब पूजाको नाम छुट्ने त कुरै भएन । अभिनय र फिल्म निर्माणबाट सफलताको स्वाद चाखेकी पूजालाई दुवै हातमा लड्डु मिलेको छ । 
 
'म यस्तो गीत गाउँछु' हिट भएपछि पूजालाई अहिले स्टार नायिकाको समेत भन्न थालिएको छ । उनै नायिका पूजा शर्मासँग फिल्मीखबर डटकमका पत्रकार मनिष अन्जानले ५ प्रश्न गरेका छन् ।
 
पढ्नुस्, पूजा शर्माले यस्तो दिइन् ५ प्रश्नको जवाफ :-
 
१. पूजा शर्मा अब स्टार नायिका हो ? 
 
होइन, अझै सिक्दै गरेको नायिका हुँ । 
 
२. अभिनय र फिल्म निर्माणमा के फरक ?
 
फिल्म निर्माणमा धेरै प्रेसर हुन्छ । लगानी गरेको छ उठ्ला कि नउठला भन्ने ठूलो चिन्ता हुन्छ । एउटा नायिका भएर मात्र काम गर्दा आफ्नो भूमिका कसरी सशक्त ढंगले निर्वाहा गर्ने भन्नेमा ध्यान हुन्छ । तर, निर्मात्री हुनुभन्दा नायिका भएर काम गर्न सजिलो हुन्छ । 
 
३. पूजा शर्मा निर्देशक सुदर्शन थापाको निर्देशनमा बनेको फिल्मभन्दा बाहेकको फिल्ममा काम नगर्ने हो ? 
 
होइन, खेल्छु नी । मलाई सुदर्शनसँग काम गर्न सहज हुन्छ । के गर्ने, कस्तो गर्ने भन्ने विषयमा हामी बीचमा धेरै छलफल हुन्छ । नयाँसँग काम गर्दा कस्तो हुन्छ भने बल्ल बल्ल बनाएको यो स्थान खस्किने होकि भन्ने डर लाग्छ । स्क्रिप्ट र मेरो भूमिका राम्रो भयो भने त अवश्य पनि अन्य निर्देशकसँग पनि काम गर्छु । 
 
४. अर्को कुन फिल्मको तयारीमा जुट्नु भएको छ ? 
 
अहिले म यस्तो गीत गाउँछुको विदेश प्रदर्शन धमाधम भैरहेको छ । अहिले यसैमा व्यस्त हुन्छौं । चाँडै नै नयाँ फिल्मको काममा भने लाग्छौं । तर, केही समय लाग्छ । 
 
५. बजारमा नेपाली नायकहरुको पारिश्रमिकको खुब चर्चा चल्छ । पूजाको चाँही कति हो ? 
 
मेरो यति र उति भन्ने छैन । म यही फिल्म इन्डष्ट्रीमा बाँच्ने हो । जीविको पार्जन गर्न सक्ने भए पुग्छ । अहिले त फिल्म निर्माणमा पनि लागेको छु । म पारिश्रमिकको पछि लाग्दिन् ।