
साउन १३ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘प्रेमगीत २’ ले आज शुक्रवारबाट दोस्रो हप्तामा आफ्नो प्रदर्शन सुरु गरेको छ । प्रदर्शनको एक हप्तामा ४ करोड ग्रस विजनेश गरेको यो फिल्मले दोस्रो हप्तामा पनि मल्टिप्लेक्स र सिंगल हलहरुमा दर्शकहरुको राम्रो साथ पाइरहेको छ ।
वर्ष २०७२ मा प्रदर्शनमा आएको फिल्म 'प्रेमगीत'को नेम सिक्वेल ‘प्रेमगीत २’ ले दोस्रो हप्तामा भने बलीउडका सुपरस्टार शाहरुख खान र अनुष्का शर्मा अभिनित फिल्म 'जब ह्यारी मेट सेजल'सँग भिडन्त गर्दैछन् ।
शाहरुख खान अभिनित पछिल्ला फिल्महरुले नेपालमा खासै दमदार व्यापार गर्न नसकेका कारण दोस्रो हप्ता पनि सिनेमा हलहरुमा ‘प्रेमगीत २’ कै विर्चश्व रहने पक्का छ । त्यसो त शाहरुख खानको फिल्म 'जब ह्यारी मेट सेजल' नेपालका मल्टिप्लेक्स हलहरुमा मात्र प्रदर्शनमा आएको छ ।
शाहरुखको क्रेजका कारण मल्टिप्लेक्समा दर्शक तान्न केही गाह्रो भएपनि सिंगल हलमा भने ‘प्रेमगीत २’ ले नै राज गर्नेछ । ‘प्रेमगीत २’ सँग एकसाथ प्रदर्शनमा आएको निखिल उप्रेती अभिनित फिल्म 'रुद्र' भने दोस्रो हप्ताबाट प्राय सबै सिंगल हलहरुबाट उत्रिसकेको छ । शाहरुख खान अभिनित फिल्म 'जब ह्यारी मेट सेजल'को समिक्षा खासै राम्रो आएको छैन । नेपालमा पनि फिल्मले पहिलो शोमा खासै उत्कृष्ट प्रतिक्रिया बटुल्न सकेन ।
अब यसको फाइदा ‘प्रेमगीत २’ ले दोस्रो हप्तामा पनि मल्टिप्लेक्सबाट लिनेछ । रामशरण पाठकले निर्देशन गरेको ‘प्रेमगीत २’ मा प्रदीप खड्का, अश्लेषा ठकुरी, सन्तोष सेन लगायतका कलाकारहरुको अभिनय छ ।

