
यस वर्षको सबैभन्दा ठूलो भिडन्त हुँदैछ कात्तिक पहिलो हप्ता । रमेश उप्रेती अभिनित फिल्म 'ऐश्वर्य', रेखा थापा अभिनित फिल्म 'रुद्रप्रिया' र अनमोल केसी अभिनित फिल्म 'कृ' कात्तिक पहिलो हप्ताबाट एकसाथ हलमा भिडन्त गर्दैछन् ।
रमेश उप्रेतीको निर्माण र अभिनयमा तयार भएको फिल्म 'ऐश्वर्य'ले यसअघि कात्तिक १ गतेलाई रिलिज कन्फर्म गरेको थियो तर प्राविधिक कारण देखाउँदै यो फिल्म एकदिन अगाडि धकलिएको छ । अब 'ऐश्वर्य'को भिडन्त रेखा थापा अभिनित 'रुद्रप्रिया'सँग हुनेछ ।
'रुद्रप्रिया'ले फ्लोरमा जानु अघि नै कात्तिक २ गते अर्थात्, लक्ष्मीपुजालाई रिलिज कन्फर्म गरेको थियो । यस्तै, अनमोल केसी अभिनित फिल्म 'कृ'ले कात्तिक ३ गतेलाई रिलिज फाइनल गरिसकेको छ । 'कृ'को छायाँकन बारम्बार लम्बिएका कारण कात्तिक ३ गते प्रदर्शनमा आउने संभावना निकै न्यून रहेको स्रोत बताउँछ । यदी 'कृ' यो मितिबाट नडगमगाए कात्तिक २ र ३ गते प्रदर्शनमा आउन लागेका तीन ठूला फिल्मको महासंग्राम गज्जबकै हुनेछ ।
रमेश उप्रेतीले फिल्मीखबर डटकमसँग कुराकानी गर्दै भने, 'प्राविधिक कारणले गर्दा कात्तिक १ गते फिल्म रिलिज गर्न सकिएन । मेरो इच्छा त कात्तिक १ गते नै 'ऐश्वर्य' रिलिज गर्ने थियो । अब कात्तिक २ गतेबाट फिल्म देशव्यापी प्रदर्शनमा आउँछ ।' उनका अनुसार, साउन २७ गते फिल्मको पहिलो गीत रिलिज गरेपछि प्रचार-प्रसारलाई व्यापकता दिइनेछ ।
'ऐश्वर्य'मा रमेशका अलावा केकी अधिकारी र दीपिका प्रसाईको मुख्य भूमिका छ भने 'रुद्रप्रिया'मा आर्यन सिग्देल र रेखा थापा शिर्ष भूमिकामा छन् । यस्तै, 'कृ'मा अनमोलले नव-नायिका आदिती बुढाथोकीसँग रोमान्स गरेका छन् ।

