Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

प्रदीपलाई अबको चुनौती !

मनिष अन्जान, काठमाण्डौ, 2017/08/03
 
प्रदीप खड्का, अब यो नामको विषयमा धेरै जानकारी दिन आवश्यक नहोला । पर्दामा रुन्चे हिरोको रुपमा परिचित प्रदीप युवास्टार हुन् । वर्ष २०७२ मा प्रदर्शनमा आएको हिट फिल्म 'प्रेमगीत'ले प्रदीपलाई स्टार बनायो । युवा-युवतीमाझ अहिले प्रदीपको क्रेज लोभलाग्दो छ । अनमोल केसीलाई टक्कर दिने नायक जन्मियो भन्ने बहस पनि अहिले खुबै चलिरहेको छ । चकलेटी अनुहार, भुतुक्कै पार्ने मुस्कान र दमदार अभिनयले प्रदीपको फ्यान क्रेज दिन प्रतिदिन बढ्दै गएको छ । 
 
हाल उनी अभिनित फिल्म 'प्रेमगीत २' प्रदर्शन भैरहेको छ । प्रदीपको क्रेज 'प्रेमगीत २' हेर्न हलमा ओर्लिएको भिडबाट नै छर्लङ हुन्छ । मिडियामा आएका खबरलाई आधार मान्ने हो भने प्रदर्शनको एक हप्तामा फिल्मले ४ करोड ग्रस विजनेश गरिसकेको छ । भोली शुक्रवारबाट ''प्रेमगीत २' दोस्रो हप्तामा प्रदर्शन हुँदैछ । 
 
प्रदीपलाई 'प्रेमगीत' नाम खुबै फाप्यो । अष्ट्रेलिया जान झोलामा कपडा समेत हालिसकेको बखत उनलाई 'प्रेमगीत'बाट अफर आएको थियो । 'प्रेमगीत'बाट सोच्दै नसोचेको सफलता हात पारेपछि प्रदीपलाई अष्ट्रेलिया जाने भुतले छाड्यो । फेरि उनलाई 'प्रेमगीत'को सिक्वेल 'प्रेमगीत २' बाट अफर गरियो र आँखा चिम्लिएर उनले फिल्म साइन गरे । 
 
'प्रेमगीत' रिलिज भएपछि अन्य कुनै पनि फिल्ममा नदेखिएका प्रदीपले 'प्रेमगीत २' बाट पर्दामा कमब्याक गरे । झण्डै डेढ वर्षदेखि प्रदीपको फिल्म हेर्न प्रतिक्षामा रहेका दर्शकलाई 'प्रेमगीत २' तिर्खा मिटायो र प्रदीप फेरि स्टार नायकको सूचीमा उभिए । 
 
'प्रेमगीत २' रिलिज अगाडि नै प्रदीप निर्माता सन्तोष सेनले निमाण गर्ने फिल्म 'दीपेन्द्र सरकार'मा अनुवन्धित भैसकेका छन् । 'दीपेन्द्र सरकार'मा प्रदीपले पूर्व राजा दीपेन्द्रको भूमिका निर्वाहा गर्नेछन् । तर, यो फिल्म निर्माण हुन झण्डै ३ देखि ४ वर्ष लाग्ने अनुमान छ । यो बीचमा उनीे अन्य ब्यानरका दुई फिल्म खेल्ने सोचमा छन् । एक फिल्म त लगभग १५ लाख पारिश्रमिकमा उनले पक्का नै गरिसकेको स्रोत बताउँछ । 
 
'प्रेमगीत' र 'प्रेमगीत २' हिट भएपछि अब प्रदीपलाई 'प्रेमगीत' नाम बाहेकका अन्य फिल्म हिट बनाएर देखाउनु पर्ने चुनौती अगाडि आएको छ । बजारमा चलेको बहस भन्छ, ''प्रेमगीत २' हिट हुनुमा 'प्रेमगीत' आफैमा एक ब्रान्ड नाम हो । अब प्रदीपले यो नाम बाहेकका अन्य फिल्मबाट आफूलाई सफल सावित गरेर देखाउनु पर्छ ।' बजारमा चलेका बहसहरुले मात्र होइन प्रदीप आफैका लागि पनि अब यो ठूलो चुनौतीको चट्टान बनेको छ । के 'प्रेमगीत' नाम छाडेर अन्य नामका फिल्मबाट प्रदीपले आफूलाई हिट सावित गर्न सक्लान् ? 
Most Visited News (monthly)