.jpg)
नेपालमा यस्ता कमै नायक होलान् जसको पहिलो फिल्म रिलिज अगाडि नै लोभलाग्दो क्रेज देखिएको होस् । 'होस्टेल'बाट नेपाली रजतपटमा भित्रिएका अहिलेका चर्चित युवास्टार अनमोल केसीको पनि पहिलो फिल्म रिलिज अगाडि लोभलाग्दो क्रेज थिएन । तर, भाद्र २ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म 'ग्याङस्टार ब्लुज'का नव-नायक आशिरमान देशराज श्रेष्ठको क्रेजले अहिले सिनेवृत समेत तात्न थालेको छ ।
केहीदिन अगाडि फिल्मीखबर डटकमले एक यूवतीले आफ्नो हातमा आशिरमानको नामको मिहेन्दी लगाएको खबर प्रकाशन गरेको थियो । पहिलो फिल्म रिलिज अगाडि नै आशिरमानको क्रेज विद्यार्थीमाझ पनि गज्जबको छ । वुधबार काठमाडौंको प्रज्ञा भवनमा एक विद्यालयको कार्यक्रममा आशिरमान पनि उपस्थित थिए । सयौं विद्यार्थीमाझ आशिरमान यसरी घेरिए कि उक्त भिडबाट उनलाई छुटाउन विद्यालयको सेक्यूरिटी गार्डलाई नै हाम्मे-हाम्मे पर्यो ।
डेव्यू फिल्म रिलिज अगाडि नै आशिरमानका यूवती फ्यानहरु धेरै छन् । आशिरमानको विद्यार्थीमाझ आशलाग्दो क्रेज देखेपछि फिल्मीखबर डटकमसँग कुराकानी गर्दै फिल्मका निर्माता सरोज न्यौपानेले भने, 'म आफै अचम्ममा परेको छु । पहिलो फिल्म रिलिज नहुँदै आशिरमानको क्रेज युवापुस्तामाझ लोभलाग्दो छ । यो नेपालमा सायदै पहिलो पटक होला ।'
.jpg)
फिल्मको ट्रेलर र गीतसंगीत रिलिज भैसकेका कारण पनि आशिरमानको क्रेज दिन प्रतिदिन बढ्दै गएको छ । आशिरमानको यो क्रेज फिल्म रिलिज भएपछि कस्तो होला ? 'ग्याङस्टार ब्लुज' रिलिज अगाडि नै अहिले यस्ता अडकलहरु काट्न सुरु भैसकेको छ । आशिरमानलाई पहिलो फिल्म रिलिज अगाडि नै अहिले नेपाली फिल्ममा संभावना बोकेको नायकको रुपमा हेरिन थालिएको छ ।
'ग्याङस्टार ब्लुज'मा आना शर्मा, आशिरमान देशराज, संयम पुरी, प्रमोद अग्रहरि, रोजिशा शाही ठकुरी लगायतको अभिनय छ । मनिष पण्डित कार्यकारी निर्माता रहेका फिल्ममा सरोज न्यौपाने र हेमराज बीसी निर्माताको रुपमा रहेका छन् ।
'होस्टेल', 'जेरी', 'गाजलु' फिल्म निर्देशन गरेर आफूलाई सफल निर्देशकको रुपमा उभ्याएका हेमराज बीसीले ‘ग्याङस्टार ब्लुज’ निर्देशन गरेका हुन् ।

