Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

चलचित्र विकास बोर्डको अध्यक्षको दौडमा को-को ?

मनिष अन्जान, काठमाण्डौ, 2017/08/01
 
चलचित्र कर्ममा लाग्नेहरूका लागि चलचित्र विकास बोर्ड आकर्षणको थलो हो। बोर्डमा सरकारले नियुक्त गरेको अध्यक्ष वा सदस्यहरू नियुक्त भएको दिन नसकिँदै त्यो पदमा जानका लागि हानथाप सुरु भइहाल्छ। अहिले पनि यो काउन्टडाउन सुरु भइसकेको छ। 
 
निर्वतमान अध्यक्ष राजकुमार राईको कार्यकाल सकिएपछि अहिले चलचित्र विकास बोर्डको अध्यक्षको कुर्सी खाली छ । जेठ २२ गते अध्यक्ष राजकुमार राईको दुई वर्षे कार्यकाल सकिएको थियो । कांग्रेस सरकारमा रहँदा राजकुमार राई चलचित्र विकास बोर्डको अध्यक्षमा नियूक्त भएका थिए । राजकुमार राईको कार्यकाल सकिएपछि अहिले उक्त कुर्सीका लागि सञ्चार मन्त्रालयमा दर्जन बढी चलचित्रकर्मीहरुको नाम पुगिसकेको छ । 
 
केही दिन अगाडि मात्र प्रधानमन्त्री शेरबहादुर देउवाले सञ्चारमन्त्रीमा मोहन बस्नेतलाई नियूक्त गरेका थिए । मोहन बस्नेतले सञ्चार मन्त्रालयको कार्यभार सम्हालेसँगै अहिले विकास बार्डको अध्यक्षका लागि दर्जनौं चलचित्रकर्मीहरुको नाम पुगेको स्रोत बताउँछ । फिल्मीखबर डटकमलाई प्राप्त जानकारी अनुसार, प्रभु शमशेर जबरा, सुचित्रा श्रेष्ठ, तिर्थ थापा, सन्दिप सापकोटा, हेमन्त बुढाथोकी, सुष्मा कार्की, दिनेश डिसी, आकाश अधिकारी, मनोज केसी, जर्नाजन आचार्य, रामकेशर बोगटी लगायतको नाम चलचित्र विकास बोर्डको अध्यक्षका लागि सञ्चार मन्त्रालयको टेवुलसम्म पुगिसकेको छ । 
 
प्रभु शमशेर जबरा फिल्म निर्माता हुन भने सुचित्रा श्रेष्ठ महिला निर्देशक तथा चलचित्र निर्देशक समाजकी अध्यक्ष हुन् । यस्तै, तिर्थ थापा (निर्देशक, कलाकार तथा नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक संघको सभापति), सन्दिप सापकोटा (कलाकार, चलचित्र पत्रकार संघ, नेपालका अध्यक्ष, सेन्सर बोर्डका सदस्य र नेपाल लोकतान्त्रिक चलचित्रकर्मी संघका अध्यक्ष) हुन् । 
 
विकास बोर्डको अध्यक्षको दौडमा रहेका हेमन्त बुढाथोकी (कलाकार), सुष्मा कार्की (कलाकार तथा नेपाल सांस्कृतिक संघकी पूर्व सहमहामन्त्री), दिनेश डिसी (फिल्म निर्देशक, फिल्म निर्माता, कलाकार तथा चलचित्र निर्देशक समाजका निर्वतमान अध्यक्ष), आकाश अधिकारी (फिल्म निर्देशक, कलाकार, फिल्म निर्माता र चलचित्र निर्माता संघका अध्यक्ष), मनोज केसी (कलाकार, फिल्म निर्माता तथा निर्वतमान चलचित्र प्राविधिक संघका अध्यक्ष), जर्नाजन आचार्य (फिल्म निर्माता) र रामकेशर बोगटी (कलाकार तथा चलचित्र कलाकार संघका अध्यक्ष) हुन् । 
 
विकास बोर्डको अध्यक्षमा निर्माता रोज राणाको नाम पनि अहिले चर्चामा छ । तर, कांग्रेसले प्रदेशको टिकट दिने लगभग पक्का पक्की भएपछि उनले विकास बोर्डको अध्यक्षको दावेदारबाट पछाडि हटेको स्रोत बताउँछ । यस्तै, विकास बोर्डको अध्यक्षमा प्रभु शमशेर जबराको नाम अहिले सबैभन्दा बढी चर्चामा छ । प्राप्त जानकारी अनुसार, उनले कुनै पनि पार्टीको सदस्यता लिएका छैनन् । 
 
विकास बोर्डका निर्वतमान अध्यक्ष राजकुमार राई पनि फेरि अध्यक्षको दौडमा रहेको स्रोत बताउँछ । नयाँ मन्त्री मण्डल गठनभएपछि परिचयात्मक कार्यक्रम समेत नभएका कारण विकास बोर्डको अध्यक्षको निर्णय भदौ १५ अघि आउने संभावना निकै न्यून छ । अहिले सरकारमा कांग्रसको सत्ता भएका कारण चलचित्र विकास बोर्डको अध्यक्षमा पनि कांग्रेस निकट व्यक्ति नै हुने चलचित्रकर्मीहरु बताउँछन् । 
 
चलचित्र विकास बोर्डको अध्यक्ष र सदस्यमा सरकारी नियूक्ती हुने भएका कारण जम्बो मन्त्री मण्डलले जसको नाम सर्वसम्मत रुपमा पारित गर्छ उही चलचित्र विकास बोर्डको अध्यक्ष बन्ने प्रावधान छ । 
Most Visited News (monthly)