Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

किन कमजोर बन्दैछन् निखिल ?

मनिष अन्जान, काठमाण्डौ, 2017/08/01
 
एकसमय यस्तो थियो कि निखिल उप्रेतीको टाउको पोष्टरमा राख्दा मात्र पनि दर्शकहरुको ओहिरो लाग्यो सिनेमा हलसम्म । उनको एक्सनका 'दिवाना' अझै पनि कम छैनन् । केही वर्ष अगाडिसम्म निखिलको फिल्मसँग अन्य फिल्म एकसाथ जुध्न समेत डराउँथे । तर, अहिले निखिल अन्य फिल्मसँग जुध्न डराउनु पर्ने अवस्था सृजना भैरहेको छ । 
 
५ वर्षपछि फिल्म ‘भैरव’बाट फर्किएका निखिललाई अहिले आफ्नो स्टारडम जोगाउन समेत पसिना छुटेको छ । कमब्याक फिल्म भएका कारण ‘भैरव’ हिट सूचीमा सुचिकृत भयो तर त्यसपछिका फिल्मले निखिल उप्रेतीको क्रेज बचाउन साथ दिएनन् । 
 
निखिले ‘भैरव’पछि 'लुटेरा', 'निर्भय', 'किंग', 'राधे' र हाल प्रदर्शन भैरहेको फिल्म 'रुद्र'मा काम गरे । यस वर्ष प्रदर्शनमा आएको फिल्म 'राधे'ले सुखद व्यापार गरेपनि हिट सावित हुनबाट भने चुक्यो । 'लुटेरा', 'निर्भय' र 'किंग' त एक हप्ता पनि हलमा मुश्किलले टिके । कमजोर कथावस्तु नै हो पछिल्लो समय निखिल अभिनित फिल्म सफल नहुनुको कारण । हुनत, उनी प्रत्येक फिल्मको प्रचार प्रसारको क्रममा यो भन्न चाँहि विर्सदैनन् कि म आफ्नो भूमिका र कथावस्तु हेरेर मात्र फिल्म साइन गर्छु । तर, उनले प्रत्येक फिल्मको प्रतिक्रियामा कमजोर कथावस्तु नै पाउँछन् । 
 
हाल 'रुद्र' प्रदर्शन भैरहेको छ । यो फिल्मलाई निखिल आफैले निर्माण गरेका हुन् । शुक्रवार र शनिवार केही आशलाग्दो व्यापार गरेपनि आइतवारबाट भने 'रुद्र'लाई दर्शक अभाव भएको छ । एकसाथ प्रदर्शनमा आएको अर्को फिल्म ‘प्रेमगीत २’ ले थामिनसक्नु दर्शक हलसम्म तान्दा निखिलको स्टारडमले आइतवारबाट भने जादु चलाएको छैन् । 'रुद्र' हेर्ने अधिकांशले फिल्मको कथावस्तु नै सबैभन्दा कमजोर मानेका छन् । 'रुद्र'मा निखिलले एक्सनमा केही फरक गर्ने प्रयास भने गरेका छन् । 
 
सिंगल हलका 'राजा' मानिने निखिल अहिले सिंगल हलमा पनि कमजोर बन्दै गएका छन् । अब निखिलले यो बुझ्न आवश्यक छ कि सधै स्टारडमले फिल्म चल्दैन त्यसका लागि फिल्मको कथा र कथाभित्रको कथा बलियो हुन आवश्यक छ । स्टारडमको पावर त शुक्रवार र शनिवार मात्र देखिन्छ त्यसपछि त फिल्मको कथावस्तु नै विक्नु पर्छ । अब निखिल उप्रेतीले यतातिर ध्यान दिने कि ? अहिले निखिल आफ्नो निर्देशन र अभिनयमा निर्माण भैरहेको फिल्म 'कमिटमेन्ट'को सुटिङमा व्यस्त छन् ।
Most Visited News (monthly)