मिति : २०८१ वैशाख २०, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘प्रेमगीत २’ को दुईदिने कलेक्सन कति ?

फिल्मीखबर, काठमाण्डौ, 2017/07/30
 
कहिले एकपछि अर्को फिल्मलाई दर्शक अभाव त कहिले दर्शकले टिकट समेत पाएनन् । यी र यस्ता खबरहरुले बेलाबखतमा सिनेवृतमा छुट्टै तरंग उत्पन्न गर्ने गर्छ । गएको वर्ष झण्डै ८० फिल्म रिलिज भए तर नाफासहित आधा दर्जनले पनि पैसा खल्तीमा हाल्न सकेनन् । यस वर्षपनि अझै दर्जन बढी फिल्म रिलिज भैसकेका छन् तर बैशाखदेखि साउनसम्म आइपुग्दा २ फिल्मभन्दा बाहेक अरुले लगानी उठाउन सकेनन् । 'धनपति' र 'म यस्तो गीत गाउँछु'ले मात्र आफूलाई हिट सूचीमा समाहित गर्न सफल भए । 
बैशाखदेखि सेलाएको फिल्म बजार असारबाट भने केही तातेको छ । असारमा 'धनपति' र 'म यस्तो गीत गाउँछु'ले सुखद व्यापार गरेका थिए भने साउनमा फिल्म 'प्रेमगीत २' ले सुस्ताएको बजारलाई फेरि तताएको छ । शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म ‘प्रेमगीत २’ ले अहिले अधिकांश हलमा थामिनसक्नु दर्शकहरुको साथ पाइरहेको छ ।  वर्ष २०७२ को हिट फिल्म 'प्रेमगीत'को नेम सिक्वेल ‘प्रेमगीत २’ ले प्रदर्शनको पहिलो र दोस्रो दिन बम्पर ओपनिङ गर्‍यो । मल्टिप्लेक्स होस वा सिंगल अहिले सबैतिर फिल्मले दर्शकको मिठो साथ पाइरहेको छ । 
 
काठमाडौंमा फिल्म वितरणको जिम्मा लिएका वितरक गोविन्द शाही र मोफसल वितरणको जिम्मा लिएका मनोज राठीका अनुसार, फिल्मले दुई दिनमा २ करोड ५३ लाख ८२ हजार १ सय ३२ रुपैयाँ ग्रस विजनेश गरेको छ । यदी वितरकले दिएको यो रिपोर्ट सही हो भने ‘प्रेमगीत २’ ले यस वर्षका हिट फिल्म 'म यस्तो गीत गाउँछु' र 'धनपति' को रेकर्ड पनि तोडेको छ । फिल्म 'म यस्तो गीत गाउँछु'ले दुई दिनमा राजधानी र मोफसल गरि १ करोड ८० लाख ग्रस विजनेश गरेको थियो भने 'धनपति'ले करोड ग्रस विजनेश गरेको थियो ।  नेपालमा फिल्मको व्यापार निर्माता वा वितरकको मौखिक भनाईमा नै भरोसा गर्नुपर्ने भएका कारण ‘प्रेमगीत २’ को व्यापार माथि उल्लेख भएअनुसार नै छ वा छैन त्यो भने कि निर्माता वा वितरकलाई नै थाहा होला । 
 
दुईदिन इनिसियल व्यापार गरेको फिल्म ‘प्रेमगीत २’ ले आइतवार पनि दर्शकहरुको साथ उतिक्कै पाएको फिल्मीखबर डटकमसँग कुराकानी गर्दै निर्माता सन्तोष सेनले बताए । निर्माता सेनले भने, 'फिल्म ‘प्रेमगीत २’ हेर्ने दर्शकको संख्या मल्टिप्लेक्स र सिंगल सबैतिर लोभलाग्दो छ । दर्शकहरुले दिनुभएको साथ र मायाले हामी अझ उत्साहित भएका छौं । फिल्मको व्यापार मात्र हाम्रो लागि ठूलो कुरा होइन समग्रमा फिल्म मन पराइदिनु भएको छ त्यो नै हाम्रो लागि सबैभन्दा ठूलो सफलता हो ।' समीक्षकको प्रशंसा र माउथ पब्लिसिटीका कारण आइतवारबाट दर्शकको संख्या बढ्दै जाने निर्माता सेनको विश्वास छ । 
 
काठमाडौंको सर्वाधिक शेयर प्राप्त हुने क्यूएफएक्सले फिल्म ‘प्रेमगीत २’ लाई १७ सो दिएको छ । शुक्रवार र शनिवार लगभग १७ सो नै हाउसफूल थिए । आइतवार क्यूएफएक्स अन्तर्गतका सबै हलहरुमा दर्शकहरुको उपस्थित गज्जबको छ । ब्रान्ड नाम, प्रदीप खड्काको क्रेज र व्यापक प्रचार प्रसारका कारण रिलिज अगाडि नै फिल्मको हाइप राम्रो थियो । यसले फिल्मको व्यापारमा ठूलै मदद्त पुर्‍याएको छ । 
 
प्रदर्शनको दिनदेखि काठमाडौंका हल-हलमा नायक प्रदीप खड्का, नायिका अश्लेषा ठकुरी, निर्माता एवं कलाकार सन्तोष सेन, निर्देशक रामशरण पाठक दर्शकहरुको प्रतिक्रिया लिन पुगिरहेका छन् । फिल्म हेर्ने अधिकांशले फिल्मको गीतसंगीत, कमेडी र क्लाईमेक्स दृश्यलाई खुबै मन पराएका छन् । 
 
म्यानमारबाट नेपाल घुम्न आएकी युवती नेपाली युवकको प्रेममा परेपछि उत्पन्न हुने द्धन्द्ध ‘प्रेमगीत २’ को कथावस्तु हो । रामशरण पाठक निर्देशित फिल्म आशुसेन फिल्मसको ब्यानरमा बनेको हो। ‘प्रेमगीत २’ मा प्रदीप खड्का, अश्लेषा ठकुरी, कैलाश कटुवाल, कविता रेग्मी, शिशिर भण्डारी, कुमार कार्की, श्रद्धा प्रसाई लगायतका कलाकारहरुको मुख्य भूमिका छ ।
 
फिल्ममा रेनेशा वान्तवा राईको कोरियोग्राफी, अष्ट महर्जनको द्धन्द्ध, कल्याण सिंह, एलिस कार्की र रोहित जोन क्षेत्रीको संगीत छ । फिल्मलाई सन्तोष सेनले निर्माण गरेका हुन् ।