मिति : २०८१ वैशाख २२, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

पहिरनमा ध्यान नदिने दया !

मनिष अन्जान, काठमाण्डौ, 2017/07/28
 
दयाहाङ् राई, यो नाम अब नेपाली दर्शकहरुका लागि अपरिचित रहेन । एकपछि अर्को फिल्ममा दमदार अभिनयले दयाहाङ् दर्शकहरुका प्रिय नायक बनिसकेका छन् । ‘लुट’मा गोफ्ले, ‘कबड्डी’, ‘कबड्डी कबड्डी’मा काजी उपनामले नै परिचित बनेका दयाहाङ् राईको यस वर्ष ‘घामपानी’ र ‘लाल्टिन’ फिल्म प्रदर्शनमा आएका थिए । 
 
हाल ‘नेप्टे’ र ‘मिष्टर झोले’को काममा व्यस्त दयाहाङ् चाँडै फिल्म ‘कान्छी’को सुटिङ ज्वाइन गर्दैछन् । दर्जन बढी फिल्ममा अभिनय गरिसकेका दयाहाङ् राई पहिरनको मामलामा भने निकै कमजोर छन् । एक कलाकार आकर्षक पहिरनदेखि अन्य कुरामा फिट हुनुपर्छ भनिन्छ । विशेषतः कलाकारहरुले ध्यान दिने कुरा भनेकै पहिरन हो । नायिकाहरु त आफ्नो पहिरनमा निकै सजक देखिन्छन् । कुनै कार्यक्रममा पुग्दा नायिकाहरुको पहिरनको नै सबैभन्दा बढी चर्चा हुने गर्छ । 
 
 
नायिका मात्र होइन नेपालका प्रायः नायकहरु पनि पहिरनको मामलामा निकै सजक छन् । कुन कार्यक्रममा जाँदा कस्तो पहिरनले ध्यान खिच्न सकिन्छ त्यो अहिलेका अधिकांश नायकहरुलाई थाहा छ । तर, यो मामलामा नायक दयाहाङ् राई भने निकै पछाडि छन् । उनलाई प्रायः कमै भेटिन्छ सुटमा चिटिक्क परेर नायक भन्न लायकको अवस्थामा । नत्र उनलाई कहिले टिसर्ट त कहिले रेडिमेड सर्टमा नै भेटिन्छ । 
 
नकोरिएको कपाल, आइरन नलगाइएको सर्ट, खुम्चिएको टिसर्ट, पुरानो लाग्ने जिन्स पाइन्ट वा कपडाको पाइन्ट उनको शरीरबाट छुट्दैन । कुनै कार्यक्रममा पुग्दा पनि अहिले दयाहाङ् राईको पहिरनको नै आलोचना हुने गर्छ । दयाहाङ् आफ्नो फिल्मको प्रिमियरमा समेत पहिरनलाई खासै ध्यान दिँदैनन् । 
 
उनी सर्ट लगाउँदा समेत पाइन्टभित्र नकसी बाहिरै खुल्ला छोड्छन्, जून एक स्टार नायकलाई सोभा दिँदैन । बिहीवार पनि दयाहाङ् राईलाई यस्तै अवस्थामा भेटियो फिल्म ‘२ रुपैयाँ’को ट्रेलर रिलिज कार्यक्रममा । उनको पहिरनको आलोचना त्यहाँ पनि हुनबाट चुकेन । फिल्म ‘कान्छी’का लागि अहिले जुँगा पालिरहेका दया ‘२ रुपैयाँ’को ट्रेलर रिलिज कार्यक्रममा पनि नकोरिएको फुस्रो कपाल, हाफ रेडिमेड सर्ट, पुरानो लाग्ने जिन्स पाइन्टमा उपस्थित थिए । 
 
 
दयाहाङ् किन पहिरनको मामलामा कमजोर छन् ?, कलाकार भएपछि कस्तो पहिरन लगाउनु पर्छ भन्ने सायद दयाहाङ्लाई ज्ञान छैन जस्तो छ ? पत्रकार—पत्रकारमै कानेखुशी भयो । सायद यो कुरा दयालाई नजिकबाट चिन्नेहरुले पनि महशुस गरेका होलान् । 
 
दयाहाङ् राई एउटा सामान्य कलाकार होइन । दर्शकमाझ उनको क्रेज गज्जबको छ । त्यसैले त उनले पिउने पानीको थोपादेखि उनले लगाउने पहिरनमा सबैको चासो हुन्छ । अझ पहिरनले एउटा कलाकारको पर्सनालिटीमा धेरै महत्वपूर्ण भूमिका खेल्छ । यसैले दयाहाङ्ले अब आफ्नो पहिरनमा पनि ध्यान दिन आवश्यक देखिन्छ । 
 
तश्वीर : विवेक बस्याल