
माथीको शिर्षक पढेपछि सायद तपाईहरु कतै यो सपना त होइन भन्दै हाम्रो पाखुरा चुमोट्न थाल्नुहुन्छ होला । किनकी कसैले पनि कल्पना नगरेको घट्नालाई रेखा थापा र निखिल उप्रेतीले अँगालो मार्दै समापन गरेका छन् । वुधवार निकै अनौठो दृश्य देखियो गोंगवुको विजी मलमा । खास कार्यक्रम भने फिल्म 'रुद्र'को प्रिमियर थियो । उपस्थितीका लागि २ बजे निमन्त्रणा दिइएको भएपनि साढे ४ बजे सुरु भयो 'रुद्र' प्रिमियर । रमेश उप्रेती, आकाश अधिकारी, सञ्चिता लुईटेल लगायतका चलचित्रकर्मीदेखि पत्रकारहरुको प्रिमियरमा बाक्लो उपस्थिती थियो । यस्तैमा नायिका रेखा थापा पनि टुप्लुक्कै देखा परिन् । नायिका रेखा थापा 'रुद्र' प्रिमियरमा पुग्दा मिडियाका क्यामेराहरु एकछिन त अलमलमै परे ।
रेखा सपिङका लागि त आएकी होइनन् ? पत्रकारको मनमा अनेकौ प्रश्नहरु उब्जिन थाले । यस्तैमा विजी मलको ५ औं तल्लामा रहेको विएसआर सिनेमा हलको आँगनमै रेखालाई स्वागत गर्न नायक निखिल उप्रेती लिफ्टको छेवैमा पुगे । त्यसपछि त मिडियाको क्यामेरा अगाडि ढपक्कै ढाकिए रेखा र निखिल । झण्डै १० वर्षपछि रेखा र निखिललाई मिडियाले यसरी एकसाथ क्यामेरामा कैद गर्न पाएका थिए । सायद तिर्खाएका थिए मिडियाका क्यामेराहरु पनि किनकी सबै सेलिव्रिटीका तश्वीरहरु कैद गरेपनि निखिल र रेखा एकसाथ उभिएका तश्वीरहरु क्यामेराको मेमोरी कार्डमा अट्न पाएका थिएनन् ।
१० वर्षपछि मिडियाको क्यामेरा अगाडि सँगै उभिएका निखिल र रेखाका माझ पत्रकारहरुका अनेकौ प्रश्नहरु बज्रिए । पत्रकारका प्रश्नहरुलाई सधै गतिलो झटारोसहित उत्तर दिन माहिर निखिल र रेखाले यसपटक पनि प्रत्येक प्रश्नहरुको सरल उत्तर फर्काए । रेखाले भनिन्, 'शुक्रवारबाट फिल्म 'रुद्र' लाग्दैछ म सबै दर्शकहरुलाई एकपटक हेर्न आग्रह गर्छु ।' रेखाले आफ्नो फिल्मको प्रचार गरेपछि निखिल पनि कमजोर बन्न सकेनन् र उनले पनि भने, 'रेखा अभिनित फिल्म 'रुद्रप्रिया' कात्तिक २ गतेबाट प्रदर्शनमा आउँदैछ । दर्शकहरुमात्र होइन म पनि फिल्म हेर्न आतुर छु ।' यतिभएपछि रेखा र निखिल दुवै मख्ख ।
पत्रकारको फेरि प्रश्न आयो, 'आखिर के कारणले तपाईहरुको सम्बन्ध विग्रिएको थियो ?' यसको उत्तरमा उनीहरुले मिडियालाई दोष दिए । निखिलले भने, 'हाम्रो सम्बन्ध कहिले विग्रिएको नै थिएन । मिडियामा मात्र हाम्रो सम्बन्ध विग्रिएको खबर आएको हो । हाम्रो त प्रायः भेटघाट भइरहन्छ ।' निखिलको उत्तर लगत्तै रेखाले भनिन्, 'निखिल दाईसँग म कहिले रिसाएको थिइन । हाम्रो सम्बन्ध दाई र बहिनीको जस्तो छ । मिडियामा मात्र हाम्रो सम्बन्ध विग्रिएको खबरहरु आएका हुन् तर हामीबिचमा पहिला जस्तो सम्बन्ध थियो अहिले पनि उस्तै छ ।'
त्यसो भए किन यत्रो वर्ष एकसाथ देखिनु भएन ? पत्रकारको प्रश्नको गतिलो उत्तर फकाउँदै निखिलले भने, 'हामीले भेट गरेको बेला तपाईहरु हुनुहुन्न थियो । त्यसैले हामीबिचको भेटघाट मिडियामा आएन ।'
१० वर्षपछि एकसाथ मिडियामा उभिएका रेखा र निखिललाई सोध्न पत्रकारका प्रश्न सकिएका थिएनन् । फेरि प्रश्न आयो, 'के अब यो जोडीलाई फिल्ममा हेर्न सकिन्छ ?' दुवैले एउटै उत्तर दिए, 'किन नसक्नु ? हामी कलाकार हौं, काम हाम्रो पेशा हो । पहिला पनि सँगै काम गरेका थियौं र आगामी दिनमा पनि गर्नेछौं ।' निखिलले भने, 'रेखा पनि निर्माता म पनि निर्माता । अभिनयमात्र होइन मिलेर हामीले फिल्म पनि निर्माण गर्न सक्छौं । मात्र हाम्रो झगडा केमा हुनसक्छ भने लगानी बढी कसले गर्ने ।' निखिलको यो उत्तर रेखालाई साह्रै चित्त बुझेछ क्यारे उनले मज्जाको हाँसोले निखिलको उत्तरमा सही थपिन् ।
मंगलवार साँझ निखिल आफैले रेखालाई फोन गर्दै 'रुद्र' हेर्न निमन्त्रणा दिएका थिए । यो कुरा निखिल आफैले मिडियाको अगाडि खुलाए । रेखालाई धन्यवाद दिँदै निखिलले भने, 'मेरो एक फोनमा रेखाले आफ्नो व्यस्त समयको बाबजुत पनि 'रुद्र' हेर्न समय निकालेकोमा धन्यवाद दिन चाहन्छु ।'
५ वर्षपछि कमब्याक गरेको फिल्म 'भैरव' बाहेक लुटेरा, निर्भय, किंग, राधे फिल्म असफल हुँदा निखिल अहिले आफ्नो स्टारडम जोगाउने दौडमा छिन् भने रेखा पनि आफ्नो खस्किएको क्रेज बचाउने सुरमा छिन् । उनी अभिनित फिल्म 'पलाँस' र 'डायरी' असफल भएका थिए । रेखाले आफ्नो बाठो वुद्धिले ८ वर्षसम्म पानीबाराबारको सम्बन्ध रहेको आर्यन सिग्देललाई समेत आफ्नो अँगालोमा कसिन् र सबै दुश्मनी अँगालोमा नै अन्त्य गरिन् । आर्यन र रेखा अभिनित फिल्म 'रुद्रप्रिया' प्रदर्शनको पखाईमा छ ।
.jpg)
कसरी विग्रिएको थियो निखिल र रेखाको सम्बन्ध ?
आखिर विग्रिएको चाँही कसरी थियो रेखा र निखिलको सम्बन्ध ? यो जान्न तपाईहरु पनि इच्छुक हुनुहुन्छ । मिडियामा प्रकाशन भएका समाचारलाई आधार मान्ने हो भने निखिलले फिल्म 'हिम्मत'मा काम गर्नका लागि महंगो पारिश्रमिक मागेपछि रेखामा निखिलप्रति ‘इगो’ पलाएको हो । यसैले उनीहरुलाई झण्डै १० वर्ष दुश्मन बनायो ।
निखिलले सबै दुश्मनी भुलेर ५ वर्षपछि कमब्याक गर्न लागेको फिल्म 'भैरव'को एक आइटम गीत खेलिदिन आग्रह गर्दै रेखाको घरको ढोका समेत ढकढकाएका थिए । निखिलले सबै दुश्मनी त्यागेर घरकै ढोका ढकढकाएपनि रेखाले फिल्मको अफर भने ठाडै अस्वीकार गरेकी थिइन् । यसपछि त झन उनीहरुको सम्बन्ध पानीबाराबारको अवस्थामा पुगेको थियो । यतिसम्मकी 'भैरव'मा काम गर्न अस्वीकार गरेका कारण निखिल रेखाको अनुहारको त कुरै छाड्औं नाम समेत सुन्न चाहेका थिएनन् । निखिलले एक अन्तर्वार्तामा रेखालाई सिधै भनेका थिए, 'मेरो पनि दिन आउँछ ।'
कमजोर बनेको स्टारडम बचाउन सायद अब निखिल र रेखाले दुश्मनी त्यागेर मिल्नुको विकल्प भेटेनन् । बुधवार एकअर्काको अँगालोमा कसिँदै रेखा र निखिलले झण्डै १० वर्ष पुरानो दुश्मनी गोंगवुको विजी मलको एउटा सानो कुनामा सकाए । अब सायद यो सुन्न नपाइएला कि रेखा र निखिल फेरि एकअर्काका दुश्मन भए । रेखा र निखिलको यो मिलन फिल्मको पर्दामा पनि देख्न पाइन्छ वा पाइदैन त्यो भने समयको हातमा छ ।
निखिल र रेखाले दोवाटो, दुनियाँ, क्रोध, वरमाला, कर्मयोद्धा, धडकन लगायतका दर्जन बढी फिल्ममा एकसाथ काम गरेका छन् । यो जोडीलाई दर्शकहरुले ठूलो पर्दामा निकै रुचाएका थिए ।
तश्वीर : विवेक बस्याल

