
निर्देशक शब्बीर खान र अभिनेता टाइगर श्राफको जोडीले ‘हीरोपन्ती’ र ‘बागी’ जस्ता हिट फिल्म दिन सफल भैसकेको छ । यी दुई तेस्रो पटक फेरि फिल्म ‘मुन्ना माइकल’बाट ठूलो पर्दामा आएका छन् । फिल्ममा नवाजुद्दीन सिद्दीकीलाई फरक भूमिकामा देख्न सकिन्छ ।
जानौं, कस्तो बनेको छ फिल्म ‘मुन्ना माइकल’
फिल्मको कहानी मुन्ना उर्फ टाइगर श्राफको हो । फिल्मको सुरुवात माइकल उर्फ रोनित रोयबाट हुन्छ, जो एक ब्याक स्टेज डान्सर हुन् तर बुढो भएका कारण उनलाई शोजबाट रिजेक्ट गरिन्छ । कुनै दिन एउटा फोहोरको थुप्रोमा माइकलले एक बच्चा अर्थात्, टाइगरलाई भेट्छन्, जसको नाम ‘मुन्ना माइकल’ राखिन्छ । मुन्ना पनि पिता माइकल जस्तै एक डान्सर बन्न चाहन्छन् र डान्सिङ स्ट्रगलका लागि मुन्ना मुम्बईबाट दिल्ली सिफ्ट हुन्छन् ।
यो कहानीमा ग्याङगस्टर महिन्दर फौजी (नवाजुद्दीन सद्दिकी) को इन्ट्री हुन्छ, जो डोली (निधि अग्रवाल) सँग प्रेम गर्छन । डोलीलाई डान्स आउँछ र यसैकारण महिन्दर डान्स सिक्नका लागि मुन्नासँग मिल्छन् तर कहानीमा ट्विस्ट आउँछ र अचानक डोलीले दिल्ली छाड्छिन् । डोली कहाँ गएकी हुन्छिन् ? के नवाजले उनलाई भेट्छन् ? मुन्ना ठूलो डान्सर बन्न सफल हुन्छन् ? यसका लागि भने तपाईले फिल्म हेर्न हलसम्म नै जानु पर्छ ।
फिल्मको निर्देशकीय पाटो अब्बल छ र एउटा साधारण कहानीलाई ठूलो पर्दामा निकै आकर्षक तरिकाले प्रस्तुत गरिएको छ । सिनेमेटोग्राफी, क्यामरा वर्क गज्जब छ तर कहानीमा नयाँपन भने छैन । न बीचमा कुनै सरप्राइज एलिमेन्ट नै छ ।
फिल्ममा अभिनय गरेका हरेक कलाकारहरुको अभिनय राम्रो छ । टाइगरलाई एक्सनसँगै डान्स गर्दै गरेको पनि देख्न सकिन्छ । यस्तै, नवाज फिल्ममा केही फरक भूमिकामा प्रस्तुत भएका छन् । फिल्मको म्यूजिक भने ठीक-ठाक छ किनकी यसमा कुनै नयाँपन छैन ।

