.jpg)
शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आएको वर्षको प्रतिक्षित फिल्म ‘म यस्तो गीत गाउँछु’ले अहिले दर्शकहरुको राम्रो साथ पाइरहेको छ । प्रदर्शनको दुईदिनमा १ करोड ८० लाख ग्रस विजनेश गरेको फिल्मले एक हप्ताको अन्त्यसम्ममा ३ करोडको आसपासमा विजनेश गर्ने वितरक बताउँछन् । फिल्मले बम्पर व्यापार गरेपछि यसको निर्माणपक्ष अहिले निकै खुशी देखिएको छ ।
निर्देशक एवं निर्माता सुदर्शन थापाका अनुसार मंगलबारसम्मको व्यापारबाटै फिल्मको लगानी नेपालबाटै सुरक्षित हुने पक्कापक्की छ । निर्देशक थापा भन्छन्–‘फिल्म लगानी सुरक्षित गर्ने दौडमा छ । नेपालबाटै फिल्मले राम्रो नाफा कमाउनेछ ।’
फिल्म सफल भएपछि निर्देशक सुदर्शन थापा, नायक पल शाह, नायिका पूजा शर्मा, कलाकार राजाराम पौडेलको टीम मोफसल दौडमा निस्किएको छ । यो टिमले मोफसलका दर्शकसँग बसेर फिल्म हेर्ने र सफलता सेलिव्रेशन गर्नेछ ।
निर्देशक थापाले भने–‘हामी आजबाट काठमाण्डौ बाहिरका विभिन्न जिल्लामा पुग्दैछौ । पोखराबाट हाम्रो सफलता सेलिव्रेशन सुरु हुनेछ ।’ नायिका पूजा शर्माले काठमाण्डौ बाहिर पनि फिल्मले राम्रो व्यापार गरेको भन्दै दर्शकलाई धन्यवाद दिन मोफसल दौडमा लागेको बताइन् ।
वर्ष २०७२ मा रिलिज भएको फिल्म 'प्रेमगीत'मा समावेश शिर्ष गीत सापटी लिएर निर्माण भएको फिल्म 'म यस्तो गीत गाउँछु' मा पल शाह, पूजा शर्मा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, मोहन निरौला, विक्रम सेन, अर्जुन गुरुङलगायत कलाकारको अभिनय रहेको छ ।
सञ्जय लामाको छायांकन रहेको फिल्ममा प्रितम पाण्डेको सम्पादन छ । निर्देशक सुदर्शन थापाले दिनेश न्यौपानेसँगको सहकार्यमा पटकथा लेखेको हुन् । यो फिल्मलाई सुदर्शन र पूजाले संयुक्त निर्माण गरेका हुन् ।

