Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निलुको सम्झनामा ओस्कारका विद्यार्थीलाई छात्रवृत्ति

फिल्मीखबर, काठमाण्डौ, 2017/07/18
हृदयाघातका कारण दुई हप्ताअघि निधन भएकी 'हाउ फन्नी' फिल्मकी निर्देशक निलु डोल्मा शेर्पाको सम्झनामा ओस्कार फिल्म कलेजका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने भएको छ ।  डोल्माको परिवार र कलेजबीच आइतबार ओस्कारमा पढ्ने ३  जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने सम्बन्धमा सम्झौता गरिएको हो । कलेजको तर्फबाट मुख्य कार्यकारी अधिकृत विनोद पौडेल र डोल्माको परिवारको तर्फबाट आमा छिरिङ शेर्पाले हस्ताक्षर गरेका थिए । 
 
कलेज प्रशासन र  डोल्माकी आमाबीच भएको सम्झौता अनुसार ओस्कारमा पढ्ने तीन जना जेहेन्दार विद्यार्थीले तीन वर्षका लागि कुल एक लाख रकम प्राप्त गर्नेछन् । छात्रवृत्तिका लागि महिला तथा लैंगिक अल्पसंख्यकलाई प्राथमिकता दिइनेछ । 
 
निलुको नाममा प्रदान गरिने छात्रवृत्तिसँगै अस्कर कलेजमा छात्रवृत्तिको संख्या २२  पुगेको कार्यकारी अधिकृत विनोद पौडेलले जानकारी गराए । ओस्कारलाई यसअघि नै नेपाल चलचित्र विकास बोर्डले १० जनालाई सिंगापुरको इनफिनिटी स्टुडियोले ५ जनालाई छात्रवृत्ति दिँदै आएको छ भने कलेज स्वयंले ४ जना महिलालाई ५० प्रतिशत छुटमा पढाउँदै आएको छ । छात्रवृत्ति यही साउन महिनादेखि सुरु हुने शैक्षिक सत्रदेखि प्रदान गरिनेछ ।
 
यस्तै, ओस्कार कलेजका ६ जना विद्यार्थी थाईल्यान्डमा हुन गइरहेको लघु फिल्म प्रतियोगिताका लागि छनोट भएका छन् । यही महिनाको जुलाई १९ देखि २८ सम्म बैंककमा हुने पाचौं अन्तर्राष्ट्रिय लुघ फिल्म प्रतियोगितामा ओस्कार कलेजको स्नातक तहमा अध्ययनरत ६ जनाले प्रतिस्पर्धाको मौका पाएका हुन् । प्रतियोगितामा उत्कृष्ट हुने समूहले बनाएको फिल्मले ३ लाख थाई भाट जित्नेछ भने थप ८ फिल्मले ३० हजार थाई भाट प्राप्त गर्नेछन् । ओस्कार फिल्म कलेज नेपालको त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एक मात्र फिल्म कलेज हो । 
Most Visited News (monthly)