Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

“कुटुमा कुटु”ले काट्यो केक

फिल्मीखबर, काठमाण्डौ, 2017/07/17
भदौ २३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म “२ रुपैयाँ”को चर्चित गीत “कुटुमा कुटु”ले युट्युबमा १ करोड भ्युज पाएको अवसरमा केक काटेको छ । गत असार ३१ गते शनिबार “कुटुमा कुटु” ले युट्युबमा १ करोड भ्युज पाएको थियो ।  यो गीतले ४९ दिनमा नै १ करोडभन्दा बढी भ्युज पाएको हो ।
 
फिल्म निर्माण कम्पनी जि टु वान प्रडक्सन र ब्ल्याक् हर्सले १ करोड भ्युज पुगेको खुसियालीमा सोमवार गैह्रीधाराको स्टेसन फाइभमा एक कार्यक्रम आयोजना गर्दै केक काटेको हो । कार्यक्रममा बोल्दै फिल्मका निर्देशक असिम शाहले भने, “नेपाली भिडियोहरूले युट्युबमा १ करोड भ्युज पाउनु ठूलो उपलब्धि हो । यस्तो उपलब्धि प्राप्त गर्नु, त्यो पनि ५० दिन नपुग्दै १ करोड भ्युज पाउनुमा हाम्रा दर्शक, समर्थक, र प्रशंसकहरूको ठूलो हात छ । गीत जस्तो छ, फिल्म पनि त्यही लेभलमा बनेको छ । फिल्म २ रुपैयाँ प्रदर्शनमा आउँदा आदरणीय दर्शकहरूले यस्तै उत्साह देखाउनु हुन्छ भन्ने कुरामा म निश्चिन्त छु । फिल्मले पनि यसरी नै रेकर्ड बनाउँछ भन्ने कुरा मैले आशा राखेको छु ।”
 
“कुटुमा कुटु”को सेलिब्रेशनमा गीतकार, संगीतकार तथा गायक राजनरान सिवाकोटी, गायक राजन इशान, निर्देशक असिम शाह, नायक तथा निर्माता आशिफ शाह, कोरियोग्राफर कविराज गहतराज, नायिका स्वस्तिमा खड्का लगायत सहभागी थिए । यो फिल्मको लोक लयमा आधारित गीतमा निर्देशक निश्चल बस्नेत, आशिफ शाह र नायिका स्वस्तिमा खड्काले नृत्य गरेका छन् । 
 
 
गीतमा राजनराज सिवाकोटीको शब्द, संगीत र स्वरमा राजनराजलाई मेलिना राई र राजन ईशानले साथ दिएका छन् । यसअघि राजनराजकै संगीतमा बनेको 'सुर्के थैली खै' र 'पूर्वपश्चिम रेल' गीतले युट्युबमा करोड भ्युज पाइसकेका छन् । यी तीनवटै गीतका एरेन्जर राजन ईशान हुन्। 'कुटुमा कुटु'सँगै राजनराजले युट्युबमा करोड भ्यू पाउन सफल गीतमा ह्याट्रिक मारेका छन् । 
 
यो कमेडी फिल्ममा आशिफ र निश्चल मिल्ने साथी हुन्छन् । यी दुई मिल्ने साथीहरु यात्रामा निस्किँदा आइपर्ने समस्या र समस्याबाट उम्कन खोज्दा आइपर्ने अनेक समस्याको वरिपरी फिल्मको कथा घुमेको छ । ए जि टु वान प्रोडक्शन प्रा.ली र ब्ल्याक हर्स प्रा.लीले फिल्म निर्माण गरेको हो ।
Most Visited News (monthly)