
बलीउडका तीन खान एउटै फिल्ममा काम गर्ने चर्चाले बेलाबखतमा भारतीय मिडियाहरु खुबै तात्ने गर्छन् । तर, अहिलेसम्म सलमान खान, शाहरुख खान र आमिर खान एउटै फिल्ममा देखिएका छैनन् । नेपालमा पनि प्रतिस्पर्धी नायक एउटै फिल्ममा खेल्ने चर्चाले बेलाबखतमा नेपाली सिनेवृत गजबले तात्ने गर्छ । गएको वर्ष खबर आएको थियो कि एकअर्काका प्रतिद्धन्द्धी मानिने नायक आर्यन सिग्देल र जीवन लुईटेल एउटै फिल्ममा देखिँदैछन् । तर, अहिलेसम्म यो संभव भएको छैन् ।
नेपाली फिल्मको इतिहास पल्टाउने हो भने आफ्नो कालखण्डका प्रतिद्धन्द्धी नायकहरुले एकअर्कासँग केही फिल्ममा सँगै काम पनि गरेका छन् । नेपाली फिल्ममा प्रतिस्पर्धी हिरो मानिने नायक भवुन केसी र शिव श्रेष्ठले 'राँको', 'सपना' लगायतका केही फिल्ममा काम गरेका छन् भने अर्का प्रतिस्पर्धी नायक राजेश हमाल र धीरेन शाक्यले 'सिमाना', 'भीष्मप्रतिज्ञा' जस्ता फिल्ममा आमने-सामने भएका थिए । नायक निखिल उप्रेती र विराज भट्टले पनि 'अग्नी ज्वाला', 'जय शिव शंकर' फिल्ममा सँगै काम गरेका छन् ।
केही वर्ष अगाडिसम्म आर्यन सिग्देल र जीवन लुईटेल एउटै फिल्ममा खेल्न सक्ने संभावना छ वा छैन् ? भन्ने बहस खुबै चल्ने गर्थ्यो तर अहिले अर्का दुई नायकको चर्चा सुरु हुन थालेको छ । युवापुस्ताले ठूलोपर्दामा सर्वाधिक खोजी गर्ने दुई नायक अनमोल केसी र प्रदीप खड्कालाई अहिले नेपाली फिल्ममा प्रतिस्पर्धी नायकको रुपमा हेरिएको छ । 'होस्टेल', 'जेरी', 'ड्रिम्स', 'गाजलु' फिल्मबाट अनमोलले आफ्नो लोभलाग्दो क्रेज बनाइसकेका छन् भने प्रदीपको पनि कम्ता छैन । 'प्रेमगीत'ले नै प्रदीपलाई अनमोलसँग टक्कर गर्ने नायक बनाएको हो ।
एकपटक कल्पना गर्नुस् त यी दुई नायक एउटै फिल्ममा भए के हुन्थ्यो होला ? के दर्शकहरुले अनमोल र प्रदीपलाई एउटै फिल्ममा हेर्न पाउलान् ? के यी दुई एकअर्कासँग फिल्म खेल्न तयार होलान् ? अहिले यी दुवै स्टारका फ्यानको मनमा यही प्रश्न जन्मिरहेको छ । यो प्रश्न अनमोल र प्रदीपलाई सोधे के जवाफ देलान् ? सायद यसको उत्तर त तपाईहरु आफैले पनि अनुमान गर्न सक्नुहुन्छ । उनीहरु यही एउटा जवाफ फर्काउथे, 'राम्रो फिल्मबाट अफर आए सँगै काम गर्न गाह्रो छैन ।'
अनमोलले अहिले एक फिल्मबाट २० लाख पारिश्रमिक लिन थालिसकेका छन् भने प्रदीप पनि यसैको वरिपरि रहेको चर्चा छ । निर्माताले यी दुईलाई लिएर फिल्म बनाउदा पारिश्रमिकका लागि मात्र झण्डै आधा करोड बढी बजेट झुट्याउनु पर्छ भने फिल्म निर्माणका लागि कम्तिमा पनि ५ करोडमाथिको बजेट ।
प्रदीप र अनमोल एउटै फिल्ममा खेल्न राजी भए नेपाली निर्माताले ५ करोड बजेट आँखा चिम्लिएर खन्याउन तयार हुन्छन् तर प्रश्न त्यही एउटा कुरामा गएर रोकिन्छ, 'प्रदीप र अनमोल एउटै फिल्ममा खेल्न राजी त हुन्छन् ?' सायद उनीहरुका फ्यानहरु पनि यही प्रार्थना गर्दैछन् अनमोल र प्रदीप एउटै फिल्ममा देखिउन । अब यो त भोलीका दिनमा नै थाहा हुनेछ अनमोल र प्रदीपले एकसाथ स्क्रिन शेयर गर्छन् वा गर्दैनन् ? तर, दर्शकहरुले भने यी दुई सुपरस्टारलाई एउटै फिल्ममा हेर्न चाहेका छन् ।
अनमोल झण्डै डेढ वर्षपछि पर्दमा फर्किएको फिल्म 'कृ' कात्तिक ३ गते रिलिज हुँदैछ भने वर्ष २०७२ मा रिलिज भएको फिल्म 'प्रेमगीत'पछि प्रदीप साउन १३ गते रिलिज हुन लागेको 'प्रेमगीत २' मा देखिँदैछन् ।

