
भाद्र २ गते रिलिज हुन लागेको फिल्म ‘भूइँमान्छे’ यूनिटले काठमाडौंको हनुमान ढोका दरबार क्षेत्रमा युथ कर्नर तथा काठमाण्डौ खेल मण्डलद्वारा संयुक्त आयोजित विधालय स्तरीय वृहत चित्रकला प्रतियोगितामा भाग लिन आएका विधार्थीसँग अन्तरक्रिया गरेको छ ।
फिल्मको तर्फबाट निर्माता रोहिणी भट्टराई, निर्देशक नवराज बुढाथोकीसंगै कलाकारहरु रमेश बुढाथोकी, सिपोरा गुरुङ र सानु ताम्राकारले अन्तरक्रिया गरेका थिए । अन्तरक्रियामा शव चिर्ने मान्छेको मनोविज्ञानमा आधारित यस फिल्मको बारेमा निर्देशक नवराजले जानकारी दिए ।
यस्तै, नायिका सिपोराले आफुलाई विषयवस्तु मन परेकोले अभिनय गरेको बताउँदै फिल्मले विधार्थीलाई केहि ज्ञान पनि दिने बताएकी थिइन् । रिलिजकालागि केही सातामात्र बाँकी रहँदा फिल्म युनिटले माध्यमिक तहसम्म अध्ययन गर्ने विधार्थीसंग अन्तरक्रिया गरेको हो । प्रतियोगितामा विधार्थीलाई तिन समुहमा विभाजन गरिएको थियो ।
फिल्म ‘भूइँमान्छे’मा रमेश बुढाथोकी, सिपोरा गुरुङ, सानु ताम्राकार, सहिनप्रजापति, बादल भट्ट, सशांकबोहोरा, रामबाबु रेग्मी, रोहिणी भट्टराई लगायतको अभिनय रहेको छ । यस फिल्मलाई रोहिणी भट्टराई, निरुपा राज्यलक्ष्मी थापा, हरि यादव लगायतले निर्माण गरेका हुन ।

