.jpg)
'नाई नभन्नू ल ४' बाट नेपाली रजतपटमा भित्रिएका नायक हुन पल शाह । यो फिल्मभन्दा अगाडि पलले दुईसय भन्दा बढी म्यूजिक भिडियोमा काम गरेका थिए । म्यूजिक भिडियोबाटै लोभलाग्दो क्रेज बनाएका पललाई विकासराज आचार्यले 'नाई नभन्नू ल'को चौंथो सिक्वेलबाट ब्रेक दिए । 'नाई नभन्नू ल ४' सफल भयो । पहिलो फिल्म सफल भएपछि पलको माग र चर्चा एकाएक ह्वात्तै बढ्यो । यूवती फ्यानका धनी पलको दोस्रो फिल्म 'म यस्तो गीत गाउँछु' यही शुक्रवारबाट अल नेपाल प्रदर्शनमा आउँदैछ ।
यो फिल्मका कारण पनि निकै चर्चामा रहेका पल नायिका आँचल शर्मासँगको प्रेममा रहेको खबरले केही महिनायता नेपाली मिडियामा खुबै छाइरहेको छ । तर, उनीहरु एकअर्कालाई साथी मात्र भन्छन् । यो जोडीले फिल्म 'नाई नभन्नू ल ४' एकसाथ काम गरेका थिए । दर्जनौं म्यूजिक भिडियोमा पनि एकसाथ काम गरेका पल र आँचल फिल्म 'नाई नभन्नू ल ४' बाट प्रेममा फसेको चर्चा छ ।
यो जोडीले 'नाई नभन्नू ल ४' पछि फिल्म 'जोनी जेन्टलम्यान'मा काम गरे । यो फिल्म चाँडै रिलिज हुँदैछ । आँचल जहाँ हुन्छिन् त्यहाँ पलको खोजी हुन्छ भने पल जहाँ एक्लै पुग्छन् त्यहाँ आँचललाई खोजिन्छ । यी दुई एकसाथ भए भने त झन उनीहरुको प्रेमसम्बन्धको गाइँगुइँ बहस नै सुरु हुन थाल्छ । मिडियाको अगाडि पनि उनीहरु प्रेमसम्बन्धको विषयमा प्रश्न तेर्सिदा तर्किन खोज्छन् ।
बुधवार राजधानीमा आयोजित पल शाह अभिनित फिल्म 'म यस्तो गीत गाउँछु'को प्रिमियर राखिएको थियो । डेढसय भन्दा बढी चलचित्रकर्मीले राजधानीको कुमारी हल भरिएको थियो । मिडियाका क्यामेराहरु नायिका र नायकहरुतर्फ तेर्सिएका थिए । यस्तैमा कालो आकर्षक पहिरनमा पुगिन् नायिका आँचल शर्मा । आँचल शर्मा फिल्म 'म यस्तो गीत गाउँछु'को प्रिमियरमा पुग्नु अनौठो थिएन ।
.jpg)
नायिका आँचल पल शाह प्रिमियरमा पुग्नुभन्दा अगाडि नै आइपुगेकी थिइन् । उनले केहीबेर मिडियाको अगाडि तश्वीर खिचाइन् । 'म यस्तो गीत गाउँछु'को प्रिमियरमा आँचल अन्य अभिनेत्रीहरुभन्दा निकै हट देखिन्थिइन् । फिल्म सुरु हुनुभन्दा अगाडि पल र आँचलले भेट गरे वा गरेनन् त्यो भने फिल्मीखबर डटकमको क्यामेराको लेन्सले भेटेन । फिल्म हलमा सुरु भयो । पल शाह फिल्म 'म यस्तो गीत गाउँछु'की नायिका पूजा शर्मासँग बस्छन् कि आँचल शर्मासँग 'फिल्मीखबर डटकम'का पत्रकार मनिष अन्जानले त्यसतर्फ आँखा डुलाए ।
फिल्म हेर्न आएका सबै पाहुनाहरुलाई हलमा पठाएपछि पल शाह पनि भित्र पसे । हलको अध्यारोले पल कहाँ बसेका थिए त्यो हामीले ठम्याउन सकेनौं । तर, फिल्मको फस्ट हाफपछि भने पललाई नायिका आँचल शर्मासँग भेटियो । मिडियाको अगाडि सायद प्रेम लुकाउन हुनसक्छ पल र आँचलको बिचको कुर्सीमा थिए म्यूजिक भिडियो निर्देशक विकास सुवेदी । फिल्म हेर्दै गर्दा पलले बोलेका केही संवादहरुमा आँचल आफ्नै सुरुमा ताली बजाउँदै खुशी हुन्थिन् अनि मुस्कुराउथे पल शाह । यो दृश्य कम्ता रमाइलो थिएन ।
फिल्म सकियो । केहीले हलभित्रै पललाई खादा र फूलले बधाई दिए । पल सायद यो चाहिरहेका थिए सबैभन्दा पहिलो प्रतिक्रिया आँचलबाट आओस् । तर, आँचलले वास्ता नै गरेपछि पल आफैले आँचललाई सोधे, 'कस्तो लाग्यो फिल्म ?' अनि आँचलले भनिन्, 'दाम्मी' । पल र आँचलले खुल्लम खुल्ला आफ्नो प्रेम अभिव्यक्त नगरेपनि यी दृश्यहरुबाट यो सजिलै अनुमान लगाउन सकिन्छ कि उनीहरुको प्रेम विस्तारै झाँगिदै गएको छ ।

